राजनीति

केही नेताको सत्ता महत्वाकाङ्क्षाले पार्टी खण्डहर बन्यो : परराष्ट्रमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता र पदको महत्वकाङ्क्षाका कारण लोभलाग्दो पार्टी एउटा खण्डहरजस्तो बनेको बताउनुभएको छ ।

उहाँले पार्टीलाई गुटहरुको संयुक्त मोर्चाभन्दा माथि उठाउन नसकेका कारण नेकपा धमिराले खाएको खाग जस्तै हुने अवस्थामा पुगेको बताउनुभयो ।

नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले केही नेताहरुको घेराबन्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको तर्क गर्नुभयो । उहाँले यस्तो प्रकारको घेराबन्दीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा हासिल गरेका केही मूल्यहरुलाई समाप्त पार्न खोजेको बताउनुभयो ।

“मुलुकले थालेका समृद्धिका अभियानहरुलाई निरन्तर अगाडि बढाउने कि रु फेरि मुलुकलाई आन्दोलनका नाममा अन्तहीन एउटा अस्थिरतामा लैजाने ? स्थिरता कि, अस्थिरता ?”, मन्त्री ज्ञवालीले प्रश्न गर्नुभयो ।

उहाँले वर्तमान अवस्थामा मुलुकले खोजेको संसद्को स्थिरता नभई सरकार र नीतिको स्थिरता भएको बताउनुभयोे । सरकार स्थिर भएमा नीति स्थिर हुने, नीति स्थिर भएमा निर्णयहरु स्थिर हुने र निर्णय स्थिर भएमा मुलुकको विकासले एउटा गति लिने उहाँले बताउनुभयो ।

विद्यमान कानून नियम, संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको भन्दै मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब सूर्य चिह्नसहित चुनावमा होमिने कार्यकर्तामाझ स्पष्ट पार्नुभयो । उहाँले पार्टीभित्रको विचौलिया राजनीति र घेराबन्दीलाई तोड्दै कार्यकर्तालाई चुनावी तयारीमा लाग्नसमेत निर्देशन दिनुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार संविधानभन्दा बाहिर रहेका असन्तुष्ट पक्षहरुलाई समेटेर राष्ट्रिय राजनीतिलाई एउटा नयाँ गति दिन चाहेको बताउनु भएको छ ।

कार्यकर्ता भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले गल्ती गर्नेलाई क्षमा दिने बताउँदै अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती गरेको भन्दै उहाँहरु सच्चिएर आए आफूहरुले क्षमा दिने बताउनुभएको हो । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.