बाँस्कोटा प्रकरणमा नेकपाले छानबिन नगर्ने- अनुसन्धानको जिम्मा अख्तियारलाई
सेक्युरिटी प्रेस स्थापनामा ७० करोड रुपैयाँ कमिशनको मोलतोल गरेको अडियोका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत राज्यका अन्य निकायले अनुसन्धान गरिरहेकाले सत्तारुढ नेकपाले कुनै छानबिन नगर्ने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटा प्रकरणबारे छलफल भएको थियो । अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले संचार तथा सूचना प्रविधि मन्त्रीबाट बिहिबार राजीनामा दिइसक्नुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमन्त्रीले राजीनामा दिइसक्नु भएको र तत्पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको बताउनुभयो ।
थापाले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको प्रष्ट दृष्टिकोण रहेको भन्दै नेकपा प्रचार विभाग उपप्रमुख समेत रहनुभएका थापाले बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको दाबीलाई अस्वीकार गगर्दै ‘त्यस्ता हावा कुराको पछाडि छलफल गर्नु बेकार रहेको टिप्पणी गर्नुभयो ।
यसै गरी बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गर्नुभएका थियो । कार्यदलले सर्वसम्मत रुपमा एमसीसी सम्झौता नसच्याई संसदबाट अनुमोदन गर्न नहुने सुझाव दिएको छ ।