जल/वातावरण

प्रशव वेदनाले छटपटिएर विमान कुरिरहेकी निर्मलालाई जुरेको त्यो संयोग

– शुरबहादुर सिंह

२९ वर्षीय गर्भवती निर्मला चँदाराको बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियामा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाका चिकित्सक टोली

नेपालीमा एउटा कथन बहुचर्चित छ– ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ । त्यस्तै भयो मुगुको खत्याड गाउँपालिका–१० निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उहाँ बाजुराको कोल्टी विमानस्थल पुग्नुभयो । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकाले चँदारा कोल्टी पुग्नुको विकल्प थिएन ।

नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पुगेकी उहाँलाई हवाईजहाज चढ्न त्यहाँका कर्मचारीले चिकित्सकको सिफारिस अनिवार्य चाहिने कुरा गरे । च्यापिरहेको पीडा सहन गर्दै उहाँ कोल्टी विमानस्थल नजीक रहेको बूढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्र पुग्नुभयो र त्यहाँको चिकित्सकसँग नेपालगञ्ज जानका लागि सिफारिस दिन अनुरोध गर्नुभयो ।

संयोगवश कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एनेस्थेसिया विशेषज्ञ डा अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बालरोग विशेषज्ञ डा नम्रता सिन्दान र स्त्रीरोग विशेष अनुभव प्राप्त डा दिलसाही रोकाको टोली केन्द्रमै पुगेको थियो । सिफारिस लिन आएकी चँदारालाई देख्नेबित्तिकै चिकित्सक टोलीले परिचयसहित उहाँको समस्याबारे जानकारी लियो ।

चिकित्सक टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नाका साथै केही बेरसम्मको संवादपछि उहाँलाई त्यही प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने कुरा राख्यो । सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको फ्लाइट भेटाउने ध्याउन्नमा रहेकी उहाँ (चँदारा)लाई भने केही शङ्का र अलि अप्ठ्यारो लागिरहेको थियो ।

उहाँलाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो । “केन्द्रमा उहाँलाई त्यतिबेला नै जाँचपड्ताल ग¥यौँ । बच्चा (ट्रान्सभर्सलाई) उल्टो अवस्थामा रहेछ”, डा तिवारीले भन्नुभयो, “आमा र बच्चा दुबैको ज्यान खतरामा भएकाले चँदारा र उहाँको आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौँ । साधनस्रोतको अभावमा उपचार केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतीपूर्ण थियो ।”

उहाँले अगाडि भन्नुभयो, “स्थानीय साधनस्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्शन (सिएस) ग¥यौँ । शल्यक्रिया सफल भयो । सुत्केरी गराउँदा (बर्थ एस्फाजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैँले खाएको थियो । त्यसको सबै व्यवस्थापन गरियो ।” अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठान जुम्लाको डा टोलीका सदस्यका साथै बूढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स मुना देवकोटा, अनमी त्रय चन्दाकुमारी दानी, दाना जोशी र मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो ।

बूढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा राजुराज जैसीले कोल्टीमा गरिएको शल्यक्रिया शाखामा पहिलोपटक शल्यक्रिया भएको राससलाई जानकारी दिनुभयो । “यसअघिका सबै जटिल खालका बिरामी हामीले नेपालगञ्ज नै सिफारिस गर्ने गथ्र्यौं”, मेडिकल अधिकृत डा जैसीले भन्नुभयो, “यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ ।”

यस ऐतिहासिक सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उहाँले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौँको खर्च पनि जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि हामीले जटिल खालका बिरामीको उपचारका हेलिकोप्टर मगाउने र हवाईजहाजमा पठाउने गथ्र्यौं । भाग्यवशः यतिबेला निर्मलालाई ठूलो राहत मिलेको छ ।” केन्द्रमै कार्यरत आफ्नै चारजना गर्भवती कर्मचारीलाई समेत नेपालगञ्ज पठाएको मेडिकल अधिकृत जैसीले सबै खाले स्वास्थ्य उपचार सेवा अभावले विकट क्षेत्रका नागरिकलाई महँगो खर्चले गरिबीतर्फ धकेल्न बाध्य बनाएको प्रतिक्रिया दिनुभयो ।

यो समयमा लाखौँ खर्च हुनबाट बचेको उहाँको भनाइ थियो । उहाँले कोल्टी प्राथमिक उपचार केन्द्र पछिल्लो समयमा हुम्लाको ताजाकोट, सर्केगाड, अदानचुली गाउँपालिका, मुगुको सोरु, खत्याड गाउँपालिका र कालीकोटको पलाँता गाउँपालिका र रासकोट नगरपालिकाको रिफरल सेन्टरका रुपमा विकास हुँदै गएको जनाउनुभयो । मुगुवासी चँदाराको यो सफल शल्यक्रियाले सर्वत्र राम्रो सन्देश फिजाएको उहाँको भनाइ थियो । बूढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले प्राथमिक उपचार केन्द्रमा गरिएको सफल शल्यक्रिया बाजुरेली इतिहासमा पहिलो र उपलब्धिमूलक घटना भएको बताउनुभयो ।

नगरप्रमुख गिरीले भन्नुभयो, “मानव जीवनका लागि स्वस्थ जीवन पहिलो कुरा हो र जसको व्यवस्थापन राज्यले गर्नु पर्दछ । नेपालको संविधानले यसलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ ।” लाखौँ खर्च गरेर जोखिमपूर्ण जीवनलाई बचाउन गर्नुपर्ने कष्टकर बाध्यता र त्यसले सिर्जना गर्ने गरिबीबाट मुक्त गराउने प्रतिष्ठानको चिकित्सक टोलीलाई उहाँले हार्दिक धन्यवाद दिनुभयो । संविधानले दिएको अधिकार नागरिकले प्रयोग गर्न पाउन् भनेर हुम्ला, मुगु, कालीकोट र बाजुराको मुख्य विन्दु मानिने कोल्टीमा जग्गा किनेर १० श्ययाको अस्पताल निर्माणका लागि तयारी भइरहेको नगरप्रमुख गिरीले बताउनुभयो ।

नियमितरुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र बूढीनन्दा नगरपालिका कोल्टी बाजुराबीच सम्झौता भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ओमजङ्ग शाहीले जानकारी दिनुभयो । प्रतिष्ठानको विस्तारित गुणस्तरीय स्वास्थ्य उपचार सेवाले पछिल्लो समय उपचार केन्द्रमा सयौँको सङ्ख्यामा बिरामीको चाप बढ्दै गएको निरीक्षक शाहीले बताउनुभयो ।

कोल्टी प्राथमिक उपचार केन्द्रमा भएको गर्भवती निर्मलाको जटिल शल्यक्रियाले नागरिकलाई घर नजीकै गुणस्तर सेवा पाइने विश्वास जगाएको छ । अब सुदूरपश्चिमको कोल्टी बाजुरा मात्र नभएर त्यससँग जोडिएका हुम्ला, मुगु र कालीकोट केही स्थानीय तहका नागरिकलाई कठिन भूगोलकै बीचमा भए पनि गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउन सकिने आशा पलाएको छ ।

काठमाडौँमा चोकैपिच्छे भेटिने अस्पतालका अगाडि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका दुर्गम जिल्लाका नागरिकले सामान्य उपचार सेवा लिन घण्टौँ हिँड्नुपर्ने विवशताले राज्य आफैँलाई लज्जित बनाएको कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्न तीनै तहका सरकारको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।”

मूलतः आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित कर्णाली तथा सुदूरपश्चिमका अति विकट जिल्लाले पछिल्ला केही वर्षदेखि जटिल खालको स्वास्थ्य सेवासमेत आफ्नै ठाउँमा पाउन थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा विस्तार गरेपछि दुर्गम कर्णालीमात्र होइन, सुदूरपश्चिमको अति विकट मानिने बझाङ, बाजुरा र अछामसम्मका नागरिकलाई राहत मिल्न थालेको हो ।

प्रतिष्ठानले कर्णालीका १० र सुदूरपश्चिमका तीन जिल्लालाई आफ्नो विशेष कार्यक्षेत्र बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने योजनालाई अघि बढाइएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो । विस्तारित गुणस्तरीय स्वास्थ्य सेवाको योजनाअनुसार बाजुराको कोल्टी पुगेको विशेषज्ञ चिकित्सकको टोलीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै मुगुकी एक गर्भवती र नवजात शिशुको ज्यान र पैसा जोगाउन सफल भएको घटनाले थप उत्साह मिलेको उहाँले बताउनुभयो । निर्देशक डा रावलले भन्नुभयो, “नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकअन्तर्गत धारा ३५ मा उल्लेख गरिएको स्वास्थ्यसम्बन्धीको हक सुनिश्चितता जुम्ला प्रतिष्ठानले अख्तियार गरेको गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँग सम्बन्धित ‘कर्णाली मोडल’ ले गर्छ । जसलाई मूल मर्म बनाएर हामी अगाडि बढिरहेका छौँ ।”

‘कर्णाली मोडल’ ले यहाँ दुर्गम गाउँका नागरिकको स्वास्थ्य अधिकारको प्रत्याभूति गराउने उहाँले दाबी गर्नुभयो । कर्णालीको मानव विकास सूचाङ्कलाई स्वास्थ्य, शिक्षा र अनुसन्धानका माध्यमबाट माथि उठाउन सहयोग पु¥याउने स्वास्थ्य क्षेत्रको एकमात्र धरोहर प्रतिष्ठानलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने निर्देशक डा रावलको भनाइ छ । प्राथमिक उपचार केन्द्रमा समेत चिकित्सक नभइरहेका बेला प्रतिष्ठान जुम्लाले दुर्गम जिल्लाका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य उपचार सेवामा बढोत्तरी दिएपछि सुर्खेत, नेपालगञ्ज, चितवन, काठमाडौँलगायत सुविधा सम्पन्न ठाउँसम्म पु¥याउनु पर्दा हुने महँगो खर्च र गर्भवतीको स्वास्थ्य जोखिममा समेत अब न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.