अर्थ

नेपाली किसानको भुक्तानी नदिएर चिनी उद्योगीहरु भारतबाट उखु ल्याउँदै

नेपाली किसानहरुको उखुको भुक्तानी नदिएका मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीका चिनी उद्योगहरुले भारतबाट उखु ल्याएर पेल्न थालेका छन् । किसानहरुले भने स्थानीयको पैसा भुक्तानी समयमा नदिइ भारतबाट उखु ल्याउने गरेको आरोप लगाएका छन् ।

उखु जोगाउन पहरा

त्यसो त उखु किसानहरुले भुक्तानी नदिंदासम्म उखु नदिने अडान राखेका कारण उद्योगहरुलाई उखु अभाव भएको हो । जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग गोडैता ‘नो क्यान’ मा चलिरहेका छन् ।

जिल्लाको दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैता अहिले भारतीय उखुको भरमा चलिरहेको छ । उद्योगले दलालमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतीय उखु ल्याइरहेको तर आफूहरूले बेचेको उखुको भुक्तानी गर्न चासो नदिएको स्थानीय किसानले गुनासो गरेका छन् ।

उद्योगीहरुले किसानको भुक्तानी दिनुको साटो भारतबाट उखु ल्याउन तत्परता देखाएका छन् । नेपाली किसानहरुका उखुको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने उद्योगीहरुलाई कारबाही गर्नुपर्ने आवाज समेत उठेको छ । उखु किसान गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले पुस ५ गतेदेखि उखु क्रसिङ सुरु गरेको महालक्ष्मी मिलले अहिलेसम्म सुरुको एक साताको मात्रै भुक्तानी गरेको जानकारी दिनुभयो । आफूले १२ लाखको उखु उद्योगलाई बुझाए पनि अहिलेसम्म दुई लाख मात्रै भुक्तानी पाएको नगरप्रमुख यादवले गुनासो गर्नुभयो ।

त्यसो त उद्योगका प्रशासकीय प्रवन्धक वीरेन्द्रकुमार श्रीवास्तवले उखु किसानको भुक्तानीलाई अब नियमित बनाउने बताउनु भएको छ । उहाँले नेपाली उखु कम भएपछि भारतीय उखु ल्याएर उद्योग सञ्चालन गरिरहेको स्वीकार गर्नुभयो ।

श्रीवास्तवका अनुसार, उद्योगले अहिलेसम्म सात लाख ७० हजार क्विन्टल उखु क्रसिङ गरेको छ । दैनिक २५ हजार क्विन्टल क्रसिङ गर्ने क्षमता रहेको यो उद्योगले अहिले उखु अभावमा दैनिक १५, १६ हजार क्विन्टल मात्रै क्रसिङ गरिरहेको प्रशासकीय प्रवन्धक श्रीवास्तवले बताउनुभयो ।

यस्तै, पूर्व–पश्चिम राजमार्गस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवन भने स्थानीय उखुबाटै सञ्चालन भइरहेको छ । तर उद्योग पूरा समय चल्ने गरी पर्याप्त उखु आउन छाडेपछि दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योग २३÷२४ हजार क्विन्टल उखु क्रसिङ गरेर ‘नो क्यान’ मा सञ्चालन भइरहेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।

पुस ६ गतेदेखि सञ्चालनमा आएको उद्योगले अहिलेसम्म ११ लाख ६६ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको । नियमित भुक्तानी गरिरहेकाले इन्दुशङ्करसँग उखु किसान सन्तुष्ट नै छन् । उद्योगले तेस्रो किस्तासम्मको ५९ करोड रुपियाँ भुक्तानी गरिसकेको उखु प्रवन्धक रजकले बताउनुभयो ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले इन्दुशङ्करबाट १५÷१५ दिनमा भुक्तानी भइरहँदा किसान खुसी भइरहेका बताउनुभयो । महालक्ष्मी लगायत अन्य केही उद्योगले भने समयमै भुक्तानी नगरेर विभिन्न बहानाबाजी गर्दा उखु किसान यो वर्ष पनि निराश भएका बताउनुभयो ।

भारतीय उखु सस्तो मूल्यमा पाएपछि केही उद्योगले स्थानीय किसानको उखुप्रति बेवास्ता गरेका मैनालीको भनाइ छ । उद्योगीले जहाँको उखु ल्याए पनि पहिलो प्राथमिकता भने स्थानीय किसानले ल्याउने उखुलाई दिनुपर्ने मैनालीले बताउनुभएको छ ।

सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगमध्ये पश्चिमी भेगको अन्नपूर्ण चिनी उद्योग धनकौल गतवर्षदेखि बन्द अवस्थामा छ । यो उद्योगका मालिक राकेश अग्रवाललाई प्रहरीले हिरासतमा लिएपछि उद्योगले डेढ हप्ता अघिमात्रै अघिल्ला वर्षहरुको भुक्तानी चुक्ता गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.