जन सरोकार

बाजुराका ग्रामीण सडकको भाडा प्रतिकिलोमिटर ११ रुपैयाँ

जिप सफारी

जिप सफारी

बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो ।

पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा रु ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभयो । जीप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले बताउनुभयो ।

जीप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जीपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिनुभयो ।

मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर रु ११ का दरले रु ४७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जीपका व्यवसायीले समेत लागू गर्नुपर्ने प्रहरीप्रमुख महराले बताउनुभयो । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ । चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जीपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानूनी कारवाही गरिने भएको छ ।

यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर रु ११ का दरले ४७३ कायम गरिएकोमा व्यवसायीहरुले असुन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् ।

जय मालिका यातायात प्रालि बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जीपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जीपहरु पुनः सञ्चालन नगर्ने बताउनुभयो । जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.