अर्थकर्पोरेट/पर्यटन

सौराहामा आउन थाले विदेशी पर्यटक

कोरोना भाइरस संक्रमणको तेस्रो लहरले सुस्ताएको नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्कने आशा पलाएको छ ।

आजभोलि सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ भने गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यून हुँदै गएपछि युरोपियन पर्यटक आउन सुरु गरेका छन् ।

“भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ”, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।”

सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उहाँको भनाइ छ । “यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।” पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन । ट्रेकिङका लागि नेपाल आएका उनीहरु सौराहा घुम्न आएको उहाँको भनाइ छ । सोधपछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।

“धेरै समयपछि छिटफुट रुपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाहीँ समूहमै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।” क्षेत्रीय होटल सङ्घ चितवनका निर्वतमान अध्यक्षसमेत रहनुभएका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताउनुभयो ।

सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आउनुभएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताउनुभयो । सो सहकारीअन्तर्गत ३१ वटा हात्ती छन् । तीमध्ये २० देखि २५ वटाले दैनिक काम पाउन थालेका छन् । नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उहाँको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुङ्गा सफारीको व्यवस्था छ ।

समितिका अध्यक्ष जीतबहादुर तामाङ्ले विदेशी पर्यटक आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।” व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उहाँको भनाइ छ । सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् । होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताउनुभयो । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उहाँको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ ।

सौराहामा मुख्य रुपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवहाका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइँ हुने गरेको छ ।

देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला सङ्घ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीय विवाहका लागि यहाँ आउने गर्दछन् । दुईवटा होटलमा दुलाहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् ।

ती प्रयोजनका लागि आउनेहरु पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइँ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.