आईसीसी टी-२० विश्वकपको सुपर-८ को खेलमा भारत पराजित भएको छ । आइतबार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको हो ।
भारतको नरेन्द्र मोदी रंगशाला, अहमदाबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ३५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकीय पारी खेल भने डेवाल्ड ब्रेभिसले २९ बलमा समान ३ चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए ।
यस्तै ट्रिस्टन स्टब्सले २४ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४४ रनमा अविजित रहनु बाहेक अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि जस्प्रित बुमराह तीन विकेट लिए भने अर्सदीप सिंहले दुई विकेट लिँदा बरुण चक्रवर्ती र शिवम् दुबेको भागमा समान एक-एक विकेट रह्यो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य लिएर मैदान उत्रेको भारत १८ दशमलव ५ ओभरमा १ सय ११ रनमा समेटियो । भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाए भने कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्डेयले समान १८-१८ रन जोडे । यस्तै अभिषेक शर्माले १५ र वासिंटन सुन्दरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि मार्क यान्सनले चार विकेट लिए भने केशव महाराजले तीन विकेट लिँदा कोर्बिन बोस्चले दुई र एडन मार्कमले एक विकेट लिए । भारत र दक्षिण अफ्रिका दुबै टोली समूह चरणका खेलमा अपराजित रहँदै सुपर-८ मा पुगेका थिए ।



प्रतिक्रिया राख्नुहोस्