बिचार

भीमेश्वरको पसिना, कमिशन काण्ड र नेपालको नक्साको केक– अर्को अनिष्ट नहोस्

मुलुकमा कुनै अनिष्ट हुन लाग्यो भने दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वरको मूर्तिमा पसिना आउँछ भन्ने मान्यता छ । मुलुकमा भएका ठूलठूला काण्डअघि भीमेश्वरमा पसिना आएको छ ।

गत बिहिबार भीमेश्वरमा मन्दिरमा पसिना आयो निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाको ७४ करोड रुपैयाँ कमिशनको मोलतोल भएको अडियो सार्वजनिक भयो । मन्त्रीले राजीनामा दिए । बिहिबार बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा आएको पसिना ८ः२५ बजे रोकिएको थियो ।

भीमसेनलाई पसिना आएमा राष्ट्रप्रमुखले क्षमा पूजा गर्नुपर्ने चलन छ । सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

भीमेश्वरमा पसिना आयो मन्त्री बाँस्कोटाको जागीर गयो । यो एउटा संयोग मात्र पनि हुनसक्छ । तर वैदिक सनातनी धर्म–संस्कृतिमा अनुप्राणित हामी नेपालीहरु यस्ता मान्यतालाई स्वीकार गर्दछौं । पिता–पुर्खाले मानिआएको चलन सहर्ष निभाउँछौं ।

अनिष्टको एउटा संकेत देखिए पनि यसप्रति सत्तासीनहरुको चासो भने गएन । सायद धर्मनिरपेक्षवादका पक्षपाती भएर पनि होला । प्रधानमन्त्री ओलीले अर्को अनिष्ट गर्नुभयो । आफ्नो जन्मदिनमा जन्मघर पुगेर नेपालको नक्साको केक काटेर बाँड्नुभयो । उहाँको जन्म दिन मनाउने शैलीलाई लिएर अनेक टिप्पणी भए ।

जन्मदिन मनाउने जुन शैली देखियो यो यहाँको आफ्नै रोजाई हो कि निकटस्थहरुको हो पत्तो भएन नेपालको नक्साको केक काटेको दृश्यले धेरैको मन दुःखेको छ । सामाजिक सञ्जालहरुमा यो फोटो सार्वजनिक भएपछि आलोचना भयो तर यसको समर्थन गर्नेहरुले विश्वका धेरै मुलुकमा यस्तै गरिन्छ भनेर जनतालाई केही नबुझेको, नजानेको शैलीमा उत्तर दिए ।

हामी “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी”को मन्त्र जप्नेका सन्तान हौं । त्यसैले मातृभूमिलाई खानेकुरा बनाएर काटकुट पारेको सुहाउँदो कुरा हैन । आलोचनाको प्रत्यालोचना गर्नेहरुले विश्वका धेरै मुलुकमा यस्तो हुन्छ भनेर भन्छन् भने प्रश्न गर्ने धेरै ठाउँ छ । हो विश्वका अरु देशमा करोडौं रुपैयाँको कमिशन लेनदेनको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले राजीनामा दिन्छन्, सम्बन्धितलाई तत्काल कानुनी कठघरामा उभ्याइन्छ । यहाँ भएको छ ?

जनताले सिटामोल र जीवनजल नपाएर मर्नुपरेको छ ? देशको झण्डा र नक्साको केक बनाएर काट्नेहरुको देशमा त्यस्तो छ ? त्यसैले अरु देशमा के हुन्छ र के हुँदैन भन्ने कुरा नगरौं ! आफ्नो सरपर्दा अरु देशको उदाहरण दिने हो भने अरु देशले गरेको उन्नति प्रगतिको कुरा पनि गरौं न । अरु देशमा यस्तो भयो हाम्रो देशमा किन भएन भनेर ।

विश्वका अन्य मुलुक र नेपालमा के भिन्नता छ ? किन हामी अरुभन्दा अलग छौं भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । हाम्रो आफ्नै, धर्म, संस्कृति, संस्कार र परम्परा छ अनि पिता पुर्खाले छाडेर गएका सामाजिक मान्यताहरु छन् । जन्मदिनमा के काट्नु स्वाभाविक होला विश्व मान्यता अनुसार तर नेपालको नक्साको केक काट्नु धेरैका लागि अपचकै विषय बनेको छ । किनभने काट्नुको अर्थ खण्डित गर्नु हो, सकाउनु हो ।

प्रधानमन्त्री ओली जत्तिको पूर्वीय दर्शन र ज्ञानका ज्ञाताले राष्ट्रको नक्सालाई केक बनाएर नकाटेको भए चाहिंं हुन्थ्यो । केक काट्ने संस्कृति भएको मुलुकका लागि यो सही होला तर दीयो बालेर अष्टचिरञ्जीविको पाठ गर्ने हाम्रो संस्कृतिमा नेपालको नक्सामा राखिएको मैनबत्ती निभाएर नेपाल काटेको दृश्य अलिक पचेन । यो पनि अबुझकै कुरा हुनसक्छ । विद्वान समर्थकहरुले जे भनुन् !

जब हामीले आफ्नोपन छोड्छौं वा भुल्छौं यसले उन्नतिको साटो अवन्नतितिर लैजान्छ भन्ने कुरा प्रधानमन्त्री ओलीले नै भन्दै आउनुभएको छ । ऋषिमुनीका सन्तति विद्वान र वैज्ञानिकहरुको पुख्र्यौली गुण भएका हामी देशको नक्साको केक बनाएर काटकुट पारेर बाँडेर खानु हाम्रो संस्कारको द्योतक हो भनेर प्रधानमन्त्रीजीले पक्कै पनि भन्नुहुन्न र यो उहाँको चाहना पनि थिएन कि !

संस्कार, संस्कृति र परम्परामाथि धावा बोलियो भने त्यसले अनिष्ट नै निम्त्याउँछ । आधुनिक भनिने वैज्ञानिक आधार नहोला तर हाम्रा पिता–पुर्खा अहिलेको कुनै पनि वैज्ञानिकभन्दा कम थिएनन् । उनीहरुले नै अहिलेका वैज्ञानिकहरुलाई आविष्कारको सूत्र छाडेर गएका थिए । हामीले त्यसको सिको वा अध्ययन गरेनौं त्यो बेग्लै कुरा हो तर प्रधानमन्त्री ओली स्वयं यो विषमा जानकार भएकाले “जन्मदिने आमा र जन्मेको मातृभूमि स्वर्गभन्दा प्यारो हुन्छ” भन्ने शास्त्रीय बचन बिर्सेर त्यही मातृभूमिको केक काटेर खानु–खुवाउनु अर्को अनिष्टको संकेत नहोस् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.