राजनीति

विपक्षीहरू भ्रम फैलाउने काममा मात्र लागिपरे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकारलाई अलोकप्रिय बनाउन अनेक भ्रम फैलाउने काममा लागिपरेको आरोप लगाउनुभएको छ । सोमबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो यतिबेला विपक्षीहरु गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छर्न निकै तल्लिन रहेका छन । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने, नन् इस्युलाई इस्यु बनाउने, किन यस्तो भइरहेको छ ? अस्तित्व रक्षा गर्नका लागि केही न केही त गर्नै परेकोले होला ।’

उहाँले सरकारले गरेको राम्रो कामलाई छाँयामा पारेर जनतामा पुग्न नदिने योजनाका साथ बिपक्षीहरु अफवाहमा उत्रिएको तथ्य राख्दै भन्नुभयो ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ । त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन’ ।

संसद्मा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । “हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौँ, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले महसुस गर्न काम गरेका छौँ, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो ।”

पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पार्नुभयो । “सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौँ,” उहाँले भन्नुभयो, “दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।”

अहिले माक्र्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले माक्र्सवादले मानवीय आकाङ्क्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताउनुभयो । अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उहाँले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत मानवअधिकारका विविध आयामलाई समेटेको बताउनुभयो ।

“माक्र्सवाद विषयवस्तुको ग्रन्थ होइन समाजवाद हो, यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ”, विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउँदै उहाँले भन्नुभयो, “अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।”

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताउँदै जनताका सुखदुःखमा साथ र सहयोगका लागि उनीहरूका घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कम्युनिष्ट पार्टी जनताको कसीमा बाँधिनुपर्नेमा जोड दिँदै उहाँले पार्टीको अस्तित्व सक्ने गरी कुनै पनि गतिविधि एवं क्रियाकलाप गर्न नहुने बताउनुभयो । जनतामा आधारित पार्टीका रूपमा यसको विकास हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने र अन्तरघातबाट पार्टीलाई बचाउनुपर्ने बताउनुभयो ।

पार्टी भित्रैबाट आफैँलाई सिध्याउने काम हुँदा प्रतिक्रियावादीलाई सजिलो भएको भन्दै उहाँले आगामी दिनमा पार्टीलाई थप मजबुत र एकताबद्ध बनाउनका लागि गोपनीयता, इमान्दारी जस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीमा सादा जीवन उच्च विचारको आदर्शलाई कायम गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसलाई नेकपाले जीवित तुल्याउन प्रयत्न गरिरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.