राजनीति

वामदेवका लागि संविधान संशोधन : कार्यदलमा बस्न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि पूर्व प्रधानन्त्री माधवकुमार नेपालको नेतृत्वमा पूर्व सभामुख सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरे पनि कार्यदलमा नेम्वाङ र देवकोटाले बस्न अस्वीकार गर्नुभएको छ ।

नेकपा पाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्ने चाहना पूरा गराउन गठन गरेको संविधान संशोधन कार्यदलमा बस्न दुई नेताले अस्वीकार गरेपछ कार्यदल नै अलपत्र परेको छ ।

शनिवार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमको चाहनाअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने ब्यवस्था गर्न बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । सोहीअनुसार संयोजक नेपालले सोमबार बिहान सचिवालय सदस्य नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाउनु भएको थियो ।

नेता नेपालको निमन्त्रण स्वीकार गर्दै पुग्नुभएका दुवै सदस्यले कार्यदलमा बस्न अस्वीकार गर्नुभएको हो । नेता नेपालसंग नेम्वाङले संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन । त्यसमा मेरो सहमति छैन भन्दै कार्यदलमा बस्न अस्वीकार गरेको बताउनुभयो ।

यस्तै नेता देवकोटाले पनि यति गम्भीर बिषयमा आफू सहमत हुनै नसकिने जानकारी नेपाललाई गराएको बताउनु भयो । ‘राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ,’ देवकोटाले भन्नुभयो ।

त्यसो त संविधान संशोधन परामर्शका लागि गोप्य रुपमा कार्यदल गठन गरेको हुँदा यसको औपचारिकता छैन । नेता नेम्वाङले संविधान संशोधन जस्तो विषय गोप्य रुपमा गर्न नहुने र जनतालाई जानकारी दिएर खुला रुपमा गर्नुपर्ने आफ्नो धारणा संयोजक नेता नेपाललाई सुनाएपछि उहाँ पनि सहमत हुनुभएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.