राजनीति

वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा भन्छन्- नेता-कार्यकर्तामा विलासिता बढ्यो

मुलुकका वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवाले राजनीतिक दलका नेताहरुमा नैतिक आचरण ह्रास हुँदै गइरहेको भन्दै चिन्ता जनाउनुभएको छ ।

मंगलबार बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवार (कम्युन)ले आफ्नो सम्मानमा आयोजना गरेको समारोहमा वाम–प्रजातान्त्रिक आन्दोलनका प्रौढ नेता कृष्णराज वर्मा र मोहनविक्रम सिंहले अधिकांश दलका धेरैजसो नेतामा बढ्दै गएको विलासी जीवनशैली र रवाफले जनतासँग दलहरुको दूरी बढ्ने देखिएको बताउनुभयो ।

“पञ्चायतकालका अप्ठ्यारा दिनमा वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुले कठोर सङ्घर्ष गरे”, नेपाल कम्युनिष्ट पार्टीका पुराना नेता वर्माले भन्नुभयो, “तर २०४६ सालको राजनीतिक परिवर्तनयता विगतमा प्रजातन्त्रका लागि लडेका नेता, कार्यकर्तामा विलासिता बढ्यो ।” यसले आमजनतामा निष्ठा भन्ने कुरा गौण रहेछ कि भन्ने परेको वर्माको भनाइ थियो ।

नब्बेवर्षीय नेता वर्माले लोकतान्त्रिक पद्धतिमा जनताका प्रतिनिधि राजनीतिक दल नै हुने हुँदा आफूलाई सुधार्न सक्नेप्रति जनताको स्नेह पुनः प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्का सम्मानित व्यक्तित्व नेकपा (मसाल)का महामन्त्री ८६ वर्षीय सिंहले पनि कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको जनताका दुःखसँग भिज्ने र दुःख निवारणका राजनीतिक उपायको खोजीमा केन्द्रित हुनुपर्ने औंल्याउनुभयो ।

आधारशिला परिवारले आफ्नो १८ औंँ वार्षिकोत्सवका अवसरमा आज मुलुकका चार पुराना वामपन्थी नेतालाई सम्मान गर्ने बताइए पनि विष्णुबहादुर मानन्धर र कमल कोइराला भने उपस्थित हुन सक्नु भएन । आधारशिला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनका अध्यक्षतामा भएको समारोहमा संस्थाका संरक्षक नारायणकाजी श्रेष्ठ र पूर्वअध्यक्ष गिरिराजमणि पोखरेलले कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर वर्मा र सिंहलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.