राजनीति

राष्ट्रिय सहमतिका लागि ओलीसंग पनि संवाद हुन्छ पार्टी एकता हुन्न : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु राष्ट्रिय सहमति अनुसार अघि बढ्ने र यस विषयमा प्रधानमन्त्री केपी ओलीसंग पनि संवाद हुने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले राष्टिय सहमतिका लागि ओलीसंग संवाद भए पनि पार्टी एकता भने नहुने स्पष्ट पार्नुभएको छ ।

बुधबार काठमाडौं फर्किएलगत्तै दलहरुसँग राष्ट्रिय सहमति बनाउनका लागि छलफल चलाउने तयारीमा रहनुुभएका प्रचण्डले नेकपाको अर्को खेमाको नेतृत्व गरेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत छलफल गर्ने तर पार्टी एकता भने नहुने बताउनुभएको हो ।

मंगलबार सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएसंगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । नेकपा ओली समूहले स्थायी कमिटी बैठक आव्हान गरेको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ ।

त्यस्तै नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणका विषयमा दलहरुले आआफ्नो रणनीतिका लागि तीब्रता दिएका छन् ।

संसद पुनःस्थापनापछि अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी भएको छ । यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न आफूलाई कुनै आपत्ती नभएको बतासकेका सन्दर्भमा भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

संसद पुनःस्थापनापछि अध्यक्ष प्रचण्डले बीबीसी नेपाली सेवासंगको कुराकानीमा राष्ट्रिय सहमतिबाट अगाडि नगइकन देशले शान्ति, स्थीरता र प्रगति नपाउने भन्दै आफ्नो प्रयास त्यसैमा केन्द्रित हुने बताउनुभएको छ । उहाँले छलफलबाट सबै राजनीतिक दलहरुको सहमतिबाट जे हुन्छ, त्यही हुने तर आफूले भने प्रधानमन्त्रीमा दाबी नगर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.