राजनीति

आज संसदमा एमसीसीमाथि छलफल

एमालेको अबरोध कायमै रहने, लोसपा पक्षमा, सत्ता साझेदार माओवादी र एकीकृत समाजवादी विपक्षमा

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा आज (बिहीबार)देखि छलफल प्रारम्भ हुनेछ ।

प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सत्ता गठबन्धन दलभित्रै चर्को विवाद र उनीहरुको सडक प्रदर्शनकाबीच संसदमा पेश भएको एमसीसी पारित गर्ने सत्ता नेतृत्व गरेको नेपाली कांगेसको एकमत छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा छ ।

समाजवादीबाट मन्त्री बनेकाहरु सरकारको प्रस्तावका विपक्षमा मतदान गर्न नैतिकताले नदिने र कि विपक्षमा रहन सरकार छाड्नुपर्छ कि समर्थन गर्नुपर्छ भन्दै नेतृत्वलाई सुझाव दिइरहेका छन् ।

संसद बैठक बस्नुअघिसम्म पनिन दलहरुबीच एमसीसीमा समान धारणा बनाउने र सहमतिमा पारित गर्ने प्रयास जारी छ । सत्ता गठबन्धनका दुई दलले एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन टुट्ने र नयाँ गठबन्धन बन्न सम्भावना प्रवल छ ।

यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच घनिभूत छलफ भैरहेको छ । एमालेले एमसीसी पारित गर्न सभामुखर्ला हटाउनुपर्ने माग अघि सारेको छ ।

एमसीसीका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस लगभग एकढिक्का छ । उसले आजको प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय हो ।

त्यस्तै पार्टीले बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले कारवाही गरेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमसीसीको प्रक्रियामै भाग नलिने बताएको छ । एमालेका महासचिव शंकर पोखरेलले संसदको अवरोध कायमै राख्ने बताउँदै आफ्नो माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिने बताए।बताउनुभयो ।

पोखरेलले सरकारले एमसीसी पारित गर्न एमालेसँग सहयोग मागेको भए पनि संसदका गतिविधिमा भाग लिन एमालेले राखेका मागहरू सम्बोधन गर्नुपर्ने र माग सम्बोधन नहुँदासम्म एमालेले यस विषयमा कुनै धारणा नदिने स्पष्ट पार्नुभयो ।

उता सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । माओवादी केन्द्रको स्थायी समिति बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.