कर्पोरेट/पर्यटन

ज्ञानदिल दासको जन्मभूमिलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

इलामको फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । सन्तकवि ज्ञानदिल दासको जन्मभूमि आमचोकलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् ।

ज्ञानदिल दास

आमचोकको संरक्षण एवं प्रवद्र्धनको काम भइरहेको छ । आमचोकलाई नेपालकै धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले राससलाई जानकारी दिनुभयो । त्यस क्षेत्रमा सन्तकवि ज्ञानदिल दासको सालिक र मन्दिर निर्माण गरिएको छ । “अहिले हामीले यस क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न ज्ञानदिल दासको सालिक र मन्दिर निर्माण गरेका छौँ,” अध्यक्ष खनालले रासससँग भन्नुभयो, “आगामी दिनमा यस क्षेत्रलाई देशकै धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न अन्य पूर्वाधारका काम गर्दै लगिनेछ ।”

ज्ञानदिल दासको जन्मभूमि आमचोकको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकारले अग्रसरता लिनुपर्ने ज्ञानदिल दास प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछाने बताउनुहुन्छ । उहाँले यस क्षेत्रलाई देशकै धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरु लागिपरेको बताउनुभयो ।

यसैबीच, ज्ञानदिल दासको जन्मभूमि आमचोकको पहिचानसहित उहाँले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गर्नुभएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि दुईदिने ज्ञानदिल दास साहित्यिक सम्मेलन सुरु भएको छ ।

ज्ञानदिलदास साहित्यिक सम्मेलन मूल समारोह समितिको आयोजनामा सुरु भएको सम्मेलनको पहिलो दिन शुक्रबार ज्ञानदिल दासको नाममा स्थापित मन्दिरको उद्घाटन र ज्ञानदिल दासको सालिक अनावरण भएको छ । फाकफोकथुम गाउँपालिका अध्यक्ष खनालले मन्दिरको उद्घाटन र सालिक अनावरण गर्नुभयो ।

दोस्रो दिन शनिबार ज्ञानदिल दासको जीवनी र उहाँको बहुआयामिक व्यक्तित्वका बारेमा प्राज्ञिक बहस हुनेछ । ज्ञानदिल दासको जीवनीसम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयामिक व्यक्तित्वका बारेमा साहित्यकार डा देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै ज्ञानदिल दासबारे भारतको सिक्किमका अन्वेषक ‘वीर बलिभद्र कार्की डोली’ ले सङ्कलन गरेको पुस्तक सार्वजनिक हुने ज्ञानदिल दास प्रतिष्ठानका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको प्रतिवेदन तयार गरी सत्य इतिहास स्थापित गर्न सम्मेलन आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो । “साहित्य सम्मेलनमा सहभागी हुन आउनेलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमिको भ्रमण पनि गराउँछौँ, यसले गर्दा उहाँको वास्तविक जन्मभूमिको पहिचान समेत हुनेछ”, अध्यक्ष खनालले भन्नुभयो, “ज्ञानदिल दासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरे पनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएको छ, यो तथ्यलाई हामी सत्यमा परिणत गर्नेछौँ ।”

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उहाँको जन्म विसं १८७८ मा फाकफोकथुम–३ आमचोकको जोरधारामा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको थियो । उहाँको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो ।

श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उहाँ पाँचथर नाँगीनस्थित जरिङ्गो गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित हुनुभयो, तब उहाँको नाम ज्ञानदिल दास भयो । उहाँलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्वान थिए ।

ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लैङ्गिक विभेदविरुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्र्ध नेपालमा र उत्तराद्र्ध दार्जिलिङ र सिक्किममा बिताउनुभएको थियो ।

सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गर्नुभएको पश्चिम सिक्किमको गेलिङ तीर्थस्थल बनेको छ । सो स्थान हाल गेलिङधामले प्रसिद्ध छ । उहाँले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भूटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उहाँले ओखलढुङ्गाको रुम्जाटारलाई केही समय मुख्य थलोका रुपमा लिएर धर्म प्रचार गरेको पाइन्छ । उहाँको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा विसं १९४० कात्तिक २५ भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.