जन सरोकार

गाउँमै पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुट्नुभएको छ ।

बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै उहाँले यो पेसा अँगाल्नुभएको हो । स्नातक तहसम्म अध्ययन गर्नुभएका विश्वकर्माले राम्रो अवसरको खोजीमा विदेश जाने सोच बनाएका युवामध्ये आफू पनि एक रहेको तर पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको देखेपछि यही क्षेत्रमा केही गर्ने अठोट गरेको बताउनुभयो ।

“पुर्ख्यौली पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यले यो पेसामा जुटेको हुँ”, उहाँले भन्नुभयो, “अन्य काम गर्ने क्षमता भए पनि मैले यही पेसा अँगालेको छु ।”

उहाँले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरबार, कट्टीलगायत सामग्रीसमेत बनाउँदै आउनुभएको छ ।

परम्परागत शैलीमा हातैले निर्माण गरिने भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेको उहाँको भनाइ छ । गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतका साथ तयार गरिएका खुकुरी देशका विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् भने केही सामग्री व्यक्तिगत मागमार्फत बाहिर जाने गरेका छन् ।

खुकुरी निर्माण प्रक्रियामा कडा परिश्रम र समय लाग्ने भए पनि त्यसमा गर्वको अनुभूति हुने उहाँ बताउनुहुन्छ । “यो केवल पेसामात्र होइन, हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “पेसालाई संरक्षण गर्दै यहीबाट आम्दानी गर्ने अठोटका साथ काम गरिरहेको छु ।”

उहाँका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सकेमात्र यो पेसा दिगो रूपमा जोगिन सक्छ । त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग आवश्यक रहेको उहाँको धारणा छ ।

गाउँमै सञ्चालन भइरहेको उद्योगबाट उत्पादित सामग्रीलाई सिधै बाह्य बजारसम्म पुर्याउने व्यवस्था भए आम्दानी अझ वृद्धि हुने उहाँ बताउनुहुन्छ । हाल कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र बजार पहुँचको सीमितताले समस्या सृजना गरेको उहाँको गुनासो छ ।

कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, सीप विकास तालिम तथा बजारीकरणमा राज्यको सहयोग भए कालिगड पेसा थप व्यवस्थित र आकर्षक बन्ने उहाँको विश्वास छ ।

पुर्ख्यौली सीपलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्ने लक्ष्यसहित उहाँ यो पेसामा निरन्तर सक्रिय रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.