जन सरोकार

यसरी बनेको थियो नेपालमा एसियाकै पहिलो सुरुङमार्ग

धेरैलाई पत्यार नलाग्नन सक्छ नेपालमा एसियाकै सबैभन्दा पुरानो सुरुङ मार्ग छ भनेर । तर यो सत्य हो कि आजभन्दा १०३ वर्ष पहिले नै बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएको थियो ।

विसं १९७३ मा चन्द्रशमशेर पाँचौँ राणा प्रधानमन्त्री भएपछि बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले गीत नै बनाएका थिए– “हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी”। उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन् ।

नौ फिट चौडाइ र १० फिट उचाइ भएको यो सुरुङको लम्बाइ भने ६०० मिटरको रहेको थियो हाल एकापट्टीको भाग भत्किएर करिब १०० मिटर जति पुरिएको जनाइएको छ । त्रिभुवन राजपथको सञ्चालनपछि विसं २०१८ देखि सुरुङमार्गको प्रयोग हुन छोडेको स्थानीय अग्रज बताउँछन् ।

विसं २०१३ मा आफू ललितपुरबाट भारत जाँदा बाइरोडको बाटो हुँदै चुरियाको सुरुङमार्ग छिरेर गएको सम्झनुहुन्छ मकवानपुरगढी गाउँपालिकाका ८३ वर्षीया भीमप्रसाद घिमिरे । घिमिरेका अनुसार बाइरोडको विस्तार पछि सुरुङमार्गको प्रयोग नभए पनि ०४५ सालसम्म पैदल आवतजावत गर्न मिल्नेगरी दुवैतर्फ प्वाल थियो ।

त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उहाँले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् ।

स्वीटजरल्याण्डबाट नेपालको खानी लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किन्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

आफ्नो २८ वर्षे शासनकालमा चन्द्रशमशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काममध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटरबाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग (सुरुङ) बनाइएको थियो ।

त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पुर्‍याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

अहिले आएर वाग्मती प्रदेश सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन समयमा एशियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण भएको उहाँको भनाइ छ । त्यो इतिहासको प्रचारप्रसार गर्नु तथा पर्यटन प्रवद्र्धन गर्नु एवं विकासका परम्परागत प्रविधिका बारेमा अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गरिने उहाँको भनाइ छ ।

प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनःनिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल बताउनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउँदै मन्त्री फुयाँलले वैशाखदेखि काम शुरु गरिने जानकारी दिनुभयो ।

मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङमार्गको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । चुरियामाई मन्दिर र सुरुङमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेशद्वार निर्माण गरिने उहाँले बताउनुभयो । पुरातत्व विभागसँग समन्वय गरेर काम गरिने उहाँको भनाइ थियो ।

नेपालको पहिलो इञ्जिनीयर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उहाँलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

चुरिया सुरुङ, हेटौँडा–काठमाडौँ रोपवे, धरहरा, शीतल निवास र घण्टाघरको पुनःनिर्माण, नेपालको प्रथम रेल्वे जनकपुर–जयनगर रेल्वे निर्माण आदि महत्वपूर्ण निर्माण गरेका इञ्जिनीयर थापाले विदेशबाट महङ्गा उपकरण झिकाएर चुरेको पहाड काटेर फाल्नुभन्दा नेपाली श्रमिक र नेपाली उत्पादनकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तोसमेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइन्छ ।

विसं ०४५ को भूकम्पपछि भने एकतर्फको प्वाल टालियो । त्यसपछि भने गोठालाको ओत लाग्ने ठाउँका रुपमा र चुरियामाईको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको घुमफिर गर्ने स्थानका रुपमा मात्र रहेको सुरुङमार्गलाई २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त बनायो । त्यसपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर त्यहाँ छिर्न तथा अवलोकन गर्न निषेध गरेको छ ।

प्रदेश सरकार गठन भएपछि भने यो सुरुङमार्गले चर्चा पाउन थालेको छ । यसको जीर्णोद्धार गर्न भन्दै प्राविधिकबाट पटकपटक निरीक्षण भएर अध्ययन थालिएको जनाइएको छ । हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङमार्गका डिजाइनर इञ्जिनीयर थापाको शालिक निर्माण गर्ने भएको छ । सुरुङको मुखै नजिक थापाको अर्धकदको शालिक बनाउने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । ऐतिहासिक सुरुङमार्गको विकास र संरक्षणमा उपमहानगर लाग्ने उपमहानगरपालिकाका सामाजिक क्षेत्र हेर्ने अधिकृत रामकृष्ण थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.