राजनीति

स्व. रवीन्द्र अधिकारीको योगदानलाई विविध कार्यक्रमका साथ स्मरण गरिने

यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उहाँको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ ।

प्रतिष्ठानले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिनुभयो ।

यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रमसमेत सम्पन्न भएको र विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गर्ने जानकारी दिनुभयो । सो अवसरमा पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तित्वले रवीन्द्र अधिकारीका बारेमा सम्बोधन गर्न कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फागुन १६ गते ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठीकोसमेत आयोजना गरिएको छ ।

रवीन्द्र पत्नी एवं प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रुपमा रहको बताउनुभयो । उहाँले भन्नुभयो, “यो दुःखद् समयको एक वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ”, प्रतिष्ठानले रवीन्द्र अधिकारीले समाजमा पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउने र उहाँले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने बताउनुभयो ।

रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त गैरनाफामूलक संस्थाका रुपमा प्रतिष्ठानको गठन भएको हो ।

२०७५ साल फागुन १५ गते पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.