राजनीति

अब पाँच वर्ष अगावै कसैले संसद भंग गर्न सक्दैनन् : पूर्वराष्ट्रपति डा. यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वाेच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताउँदै अब कसैले पनि पाँच वर्ष अगावै संसद विघटन गर्न नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो– “अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन । म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु ।”

त्यसै गरी उहाँले संसद् विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताउनुभयो ।

डा. यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुशी दिएको बताउँदै उहाँले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुशी भएका छन् ।”

उहाँले संविधान जारी गर्दाको समयको स्मरण गर्दै भन्नुभयो, “मैले संविधान जारी गर्दा देशका सबै नागरिक खुशी होउन् भन्ने चाहेको थिएँ तर त्यतिबेला मधेशवादी दल छाडेर तत्कालीन नेकपा (एमाले), कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो र त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरेँ ।”

त्यसबेला मधेशी दलले संविधानप्रति आपति जनाए पनि यही संविधानअनुसार भएको निर्वाचनमा मधेशी दललेसमेत सहभागिता जनाएर भाग लिएपछि आफूले ठिकै गरेको अनुभूति भएको डा यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ ।”

पूर्वराष्ट्रपति डा. यादवले भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने तथा अगुवा ठिक रहे संविधान राम्रै बाटोबाट जाने भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरणसमेत दिनुभयो ।

पूर्वराष्ट्रपति डा. यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नलेको हुँदा चिरा परेकाले मुलुकमा समस्या आएको बताउनुभयो । उहाँले आर्थिक अनुशासन कुनै पनि दलमा नभएको बताउँदै विधानअनुसार पार्टी नचले, नेता, कार्यकर्ताको आचरण ठिक नभए लोकतन्त्र खतरामा पर्ने बताउनुभयो ।

डा. यादवले भन्नुभयो, “अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.