राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै- संसद अधिवेशन आव्हानको तयारी

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै त्यसलाई बदर गरी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । शुक्रबार पाँच बजे बोलाइएको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आव्हान गरी राष्ट्रपतिमा सिफारिश गर्ने बताइएको छ ।

फागुन ११ गते मंगलबार सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि मन्त्रिपरिषद बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । बिहीबारमात्र राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीले परामर्श गर्नुभएको थियो ।

सर्वोच्चको आदेशअनुसार फागुन २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ । संसद अधिवेशनपछि विभाजिन नेकपाको हैसियत पनि देखिने छ भने प्रधानमन्त्री ओलीको राजीनामा आउने वा अविश्वास प्रस्तावबाट हटाउने भन्ने खेल त्यसपछि सुरु हुनेछ ।

संसद पुनःस्थापना लगत्तै ओलीलाई सत्ताबाट विस्थापन गर्न प्रचण्ड माधव समूहले गरेको दौडधुपले कुनै काम गरेको छैन । कांगेस सभापति शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीले पहिलो सो समूहको राजनीतिक पार्टी कुन हो भन्ने स्पष्ट हुनुपर्ने माग गरेपछि ओली पदबाट हटाउने योजनामा तुसारापात भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरे पनि सर्वोच्च अदालतले यही फागुन ११ प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.