कर्पोरेट/पर्यटन

ढोरपाटनमा सुरु भयो शिकारयाम

कोरोना संक्रमणमा आएको कमीसंगै मुलुकको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको शिकार कोटा तोकेको छ ।

प्रतिस्पर्धाबाट शिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । शिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन् ।

बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले शिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । गत शिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले शिकार खेलाएको थियो ।

यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताउनुभयो । बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने शिकारको कोटा र दर थाहा हुन्छ । शिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा शिकारको राजस्व दर घटबढ हुने गर्छ ।

कुनै याममा शिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख)को याममा एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए ।

आरक्षमा वर्षेनी (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको शिकार खुला हुन्छ । विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्ने गर्छ । गत शिकारयाममा १० नाउर र छ झारलको शिकार कोटा छुट्याइए पनि नौ नाउर तथा तीन झारलको मात्र शिकार गरिएको थियो ।

अनुमति पाएर पनि शिकारी नआएपछि शिकार कम भएको हो । यस याममा भने विदेशी शिकारी ढोरपाटन आउन आतुर रहेको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो । महामारीको जोखिम न्यून हुँदै जाँदा विदेशीहरू साहसिक र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन आउन उत्सुक देखिएका हुन् ।

कोभिड–१९ को प्रकोपले यात्रामा प्रतिबन्ध लाउँदा गएका केही याममा ढोरपाटनमा शिकार नै हुन सकेन । बोलपत्र टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली शिकार खेल्न स्थलमा आउने आरक्ष कार्यालयले जनाएको छ ।

हरेक वर्ष फागुन दोस्रो हप्तातिरबाट आरक्षमा यस यामको शिकार खेल्न सुरु हुन्छ । छनोटमा परेका कम्पनीले वैशाख अन्त्यसम्ममा शिकार खेलाउँछन् । “विभागले निर्धारित गरेको ब्लकमा पुगेर कम्पनीलाई तोकिएअनुसारको सङ्ख्यामा नाउर र झारलको शिकार खेलाउने गरिन्छ”, प्रबन्ध निर्देशक पराजुलीले भन्नुभयो ।

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो । शिकार खेलाएर आरक्षले वर्षेनी करोडौँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ । व्यवस्थित शिकारका लागि आरक्षभित्र सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउँछन् । शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

शिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा पर्ने गरेको छ । एउटै शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन् । शिकारीहरू हेलिकोप्टरबाट आरक्ष पुग्छन् । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी तथा हिमाली भू–भागमा पर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.