खेलविविध

‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्रगतिका धावकको सूचिमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल हुनुभएको छ ।

सेना दिवसका अवसरमा आज आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम घोषित हुनुभयो । प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वल्र्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गर्नुभएको छ ।

प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो हुनुभयो । उहाँहरुलाई क्रमशः रु दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय हुनुभयो । उहाँहरुलाई क्रमशः रु ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।

यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय हुनुभयो । प्रतियोगितमा प्रथम हुने श्रेष्ठलाई रु ७५ हजार नगद र स्कुटी प्रदान गरियो ।

विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा यसअघि म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति शर्माले उद्घाटन गर्नुभएको हो ।

सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथनका विजयी प्रतियोगिलाई पनि नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.