राजनीति

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौैँ : उपप्रधानमन्त्री खड्का

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री खड्का

कर्णाली, नरहरिनाथ गाउँपालिका–१ कालीकोटस्थित सुनथराली विमानस्थलको सोमबार औपचारिक उद्घाटन गर्दै रक्षामन्त्री खड्काले प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटनको सम्भावना र अवसरका हिसाबले सात प्रदेशभन्दा कर्णाली धेरै माथि भएको बताउनुभयो । उहाँले दलका झण्डा फरक–फरक भएपनि कर्णालीको विकासको झण्डा एउटै हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “कर्णाली सात प्रदेशभन्दा फरक विशेषता बोकेको छ । यसको विकासमा सबै सरकारको भूमिका प्रभावकारी बनाउन जनताको उन्नति र प्रगतिका लागि सबै दल एकाकार हुनुपर्दछ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत र जडिबुटीको विकास गरी यहाँको आर्थिक समृद्धिका लागि सबै दल साझा सोचका साथ अगाडि बढ्नुपर्छ ।”

सातै प्रदेश भन्दा सम्पन्न प्रदेश बनाएर अबको १० देखि १५ वर्षभित्र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्दै उहाँले यहाँको विद्युत उत्पादनका लागि ठूला आयोजना अगाडि बढाइएको जनाउनुभयो । निर्वाचनका बेला गठबन्धन दलको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड र आफू आएर गरेका वाचा जनताका अघि पुरा भएको बताउँदै उहाँले भन्नुभयो, “वाचा गरेको काम सम्पन्न भएको सन्देश दिन आएका हौँ । अब प्रत्येक हप्ता कालीकोटबाट प्रदेश राजधानी सुर्खेतमा जहाज नियमित गराउने व्यवस्थाका लागि पालिकासमेत सक्रिय हुनुपर्दछ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तीन दर्जनभन्दा बढी नागरिकको बलिदानबाट सुनथराली विमानस्थलको जन्म भएको बताउनुभयो । “अहिले नागरिक उड्डयनसँग छ वटा जहाजको आवश्यकता छ । हामी कर्णालीका जस्ता जनताको समस्या र आवश्यकतालाई बुझेर बिरामी, सुत्केरी, वृद्ध, विद्यार्थी र अप्ठ्यारोमा परेका नागरिकको सेवाका लागि भनेर जहाज खरिद गर्दैछौँ ।”

जिन्दगीमा जनताको काम गर्ने उर्जा लिएर यहाँबाट फर्कने भन्दै पर्यटनमन्त्री किराँतीले कालीकोटमा हप्ताको एक पटक नियमित उडान भर्ने प्रतिवद्धता जनाउनुभयो । मुगु राराताल यात्रा, सडक पूर्वाधार, सांस्कृतिक पर्व, मेला र पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण र पृथ्वीको भूस्वर्ग मानिने बडीमालिका यही भएकोले कालीकोटको आर्थिक विकासमा पर्यटनले सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुनथरालीमा हवाई जहाज बस्न चार दशक लागेको र करिब तीन दर्जन बढी मानिसले मृत्युवरण गरेको स्मरण गर्नुभयो । कर्णालीको आन्तरिक उडानका लागि सङ्घीय सरकारसँग जोडदार माग गरेपश्चात् कालीकोटमा उडान सुरु भएको उहाँले जनाउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “विमानस्थल निर्माण गर्ने कुरा ठूलो थियो र निर्माणसहित पक्की पनि भयो । अब नियमित उडान गर्न हामी प्रतिवद्ध छौं यद्यपि यसमा सङ्घीय सरकारको विशेष सहयोग आवश्यक हुन्छ ।” मान्म–सुनथराली जोड्ने केबुलकारका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट छुट्याएको जनाउँदै त्यसको कार्यान्वयमा जोड दिने बताउनुभयो ।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३६ जनाको मृत्युको जगमा सुनथराली विमानस्थल निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०४८÷०४९ तत्कालीन सांसद धर्मदत्त उपाध्याय र जिविस सभापति दीपबहादुर शाहीले शिलन्यास गरेको विमानस्थल पूर्वपर्यटनमन्त्रीद्वय खड्गबहादुर विश्वकर्मा, जीवनबहादुर शाही र बहालवाला पर्यटनमन्त्री किरातीको महत्वपूर्ण भूमिकाले कालीकोटका जनताले जहाज देख्ने मात्र नभई चढ्ने अवसर प्राप्त गरेका छन् । सबैप्रति कृतज्ञ छु ।”

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कालीकोटमा विसं।२०७३ मा भएको जहाजको परीक्षण उडानले आजको खुसीको अवसर जुराएको बताउनुभयो । उहाँले भन्नुभयो, “शहरमा धनीहरुले जहाज चढ्छन् तर कर्णालीमा गरिबले चढ्ने जहाज हो । अब नियमित उडानका लागि यहाँका जनताको आर्थिक अवस्था माथि उकास्न र बाटो पक्की गर्ने कुरामा सबै तहका सरकारको ध्यान जानुपर्दछ ।”

सुनथरालीमा फागुन १३ गते आइतबार दोस्रो परीक्षण उडान भएसँगै सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्का, पर्यटनमन्त्री किराती, कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा, पूर्वमुख्यमन्त्रीद्वय शाही, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी उपसभामुख यशोदा न्यौपाने, नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेपाल वायु सेवा निगम र तारा एयरलायन्सको जहाज लिएर विमानस्थलको औपचारिक उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.