जेनजी आन्दोलनबारे बीबीसीको सनसनीपूर्ण खुलासा
गत भदौ २३ गतेको जेनजी आन्दोलन, त्यो प्रदर्शनमा भएको दमन र त्यसैको उपजका रुपमा उत्पन्न भदौ २४ गतेको विध्वंशका विषयमा चरम विवाद छ । तत्कालीन सत्तापक्ष २३ गते छाडेर २४ लाई मात्र प्रचारको अंश बनाइरहेका छन् ।
निर्वाचन आउन एक साताभन्दा कम दिन बाँकी रहँदा बीबीसी नेपाली सेवाले जेनजी आन्दोलनका विषयमा सार्वजनिक गरेको बृत्तचित्रले अहिले राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
वृत्तचित्रले देखाएको सर्वाधिक ठूलो तथ्य भनेको भदौ २३ को जेनजी प्रदर्शनमा गोली चलाउन ‘चेन अफ कमाण्ड’ र माथिल्लो तहको संलग्नता देखिनु हो । यो अनुसन्धानको सबैभन्दा ठूलो उपलब्धि भनेको गोली चलाउने आदेश तल्लो तहका प्रहरीबाट मात्र नभई प्रहरीको सर्वोच्च तह बाट आएको पुष्टि गर्नु हो।
सामान्यतया यस्ता घटनामा फिल्डमा खटिएका कमान्डरलाई मात्र दोषी देखाइन्छ, तर बीबीसीको रिपोर्टले यो योजनाबद्ध हस्तक्षेप भएको संकेत गरेको छ ।
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले आफूहरुले गोली चलाउने आदेश नदिएको र प्रहरीले गोली नचलाएको, अन्तैबाट चलेको, विदेशी शक्तिले चलाएको आरोप लगाइरहँदा सुरक्षा संयन्त्रभित्रको जवाफदेहिताको अभावलाई पनि प्रष्ट पारेको छ।
जेनजी आन्दोलन दमन र विध्वंशको अनुसन्धान गर्न गठन भएको छानबिन आयोगले प्रतिवेदन तयार पारिरहँदा सार्वजनिक भएको बीबीसीको दस्तावेज जेनजी आन्दोलनका क्रममा भएका सबै कुकर्मको प्रमाणको विशाल सङ्ग्रह मान्न सकिने आधार देखिन्छ ।
४,००० भन्दा बढी भिडिओ र तस्बिर तथा प्रहरीका गोप्य दस्ताबेजहरूले घटना भुलवश नभई सुनियोजित भएको आधार दिन्छ र घातक बलको अनावश्यक प्रयोग भएको स्पष्ट देखिन्छ । त्यसै गरी प्रहरीले भीड नियन्त्रण गर्ने नियमको पालना गरेको छैन ।
यस घटनामा सरकारी तहबाट गठन भएको आयोगको प्रतिवेदनले कस्तो निष्कर्ष दिन्द्यछ त्यो आफ्नै ठाउँमा छ । तर बीबीसीको दस्तावेजले गोली चलाउन आदेश दिने व्यक्तिहरू मुख्य दोषी देखिन्छन् ।

तर, भर्दा २४ गतेको विध्वंश पनि बिर्सन सकिने पक्ष होइन । २३ गते नरसंहार नभएको भए २४ को विध्वंश हुने थिएन भन्ने धेरैको आँकलन छ ।
तर, तत्कालीन राजनीतिक नेतृत्वले विदेशी चलखेल भएको, स्नाइपरबाट गोली हानिएको, फिल्डमा खटिएका प्रहरीले गोली चलाएको, आफूले आदेश नदिएको भन्दै जिम्मेवारी नै नलिने प्रवृत्तिले यिुवा पुस्तामा अझ आक्रोश थपिरहेको छ ।
यो घटना नेपालमा लामो समयदेखि चल्दै आएको दण्डहीनताको संस्कृतिको उपज थियो । २३ भदौमा मारिएका कलिला युवा र २४ मा गरिएको विध्वंश दुबै दण्डनीय अपराध हो ।
यति हुँदाहुँदै पनि बीबीसीको दस्तावेजमा थुप्रै कमजोरी रहेका छन् । टीओबी लेखेको कालो ज्याकेट लगाएर भदौ २४ गते उपस्थित समूहका बारेमा किन कुनै कुरा उल्लेख भएन भन्ने गम्भीर सवाल छ । निर्वाचनको मुखमा यस्तो सामग्री आउनु आफैंमा एउटा प्रश्न पनि बनेको छ ।





प्रतिक्रिया राख्नुहोस्