राजनीति

ओली समूहमा सयभन्दा बढी सांसद रहेको दावी

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी सय प्रतिनिधिसभा सदस्य रहेको जिकिर गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहनुभएको र आवश्यक पर्दा बहुमत सिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोजिएपछि मध्यावधी निर्वाचनको घोषणा भएकामा सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट गर्नुभयो ।

प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्नेछ । संसद्मा अविश्वासको प्रस्ताव पेश भएमा र पार्टीको ह्विपविरुद्ध कुनै सदस्य लागेमा विधानबमोजिम कारबाही गरिने उहाँको उद्घोष थियो ।

नेता भट्राईले प्रधानमन्त्रीविरुद्ध नेकपाको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत आरोपत्र फिर्ता, प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कार्याकाल पूरा गर्न दिने सहमति भएमा नेकपाको एकता कायम रहने पनि बताउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रूपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि स्मरण गराउनुभयो । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले शुक्रबार मुख्य सचेतक देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गर्नुभएको थियो ।

सम्बन्धित खबर

Back to top button