राजनीति

जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त

जनयुद्धकालमा २०५५ पुस १५ पुसमा जाजरकोको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेर बेपत्ता बनाएको एक शिक्षक अझै फर्कने आशमा बसेका छन् उनको परिवार । ती शिक्षक वेपत्ता बनाइएको अहिले २० वर्षसम्म भयो तर कहाँ हुनुहुन्छ भन्ने परिवारलाई जानकारी छैन । दैनिक बुवाको सम्झनामा भेरी नगरपालिका–२ की शारदा शर्मालाई झस्काउने गर्दछ ।

त्यस्तै शिक्षण पेशामा रहेका शिवप्रसाद शर्मालाई तत्कालीन राज्य पक्षबाट विसं २०५७ फागुन १३ गते नेपालगञ्जबाट बेपत्ता बनाइएको थियो । बेपत्ता बनाएको २० वर्ष बिते पनि अहिलेसम्म सास र लास कुनै कुरा राज्य पक्षबाट जानकारी गराइएको छैन । बेपत्ता शिवका दुई छोरी र श्रीमती अहिले पनि उहाँको मूलबाटो हेरेर पर्खिरहनुभएको छ ।

राति घरको ढोकामा आवाज आउँदा होस् वा अन्य कारणले आवाज आए पनि बुवा नै आउनुभएको हो भनेर मन फुरुङ्ग हुने गरेको बेपत्ता शिवकी जेठी छोरी शारदाले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मेरो बुवालाई बेपत्ता बनाएको दिनदेखि कहिल्यै देख्न पाइनँ, बुवालाई किन र केका लागि बेपत्ता पारियो पत्ता लागेको छैन ।” राज्यले रु १० लाख राहत त दियो तर बुवाको अवस्थाका बारेमा अहिलेसम्म कुनै खास प्रतिक्रिया दिइएको छैन । पैसाले बुवाको माया नपाइने भन्दै शारदाले बुवाको अवस्था तत्काल सार्वजानिक गर्नसमेत माग गर्नुभयो ।

जुनिचाँदे–४ का दलबहादुर रोकाको पनि शारदाको भन्दा कम पीडा छैन । उहाँ भन्नुहुन्छ, “सरकारले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केही पाएको अवस्था छैन ।” छेडागाड नगरपालिका–१३ का मानबहादुर बुढाले आँखाभरि आँशु पार्दै भन्नुभयो, “बुवा गुमाउनुको पीडालाई कहिल्यै भुल्न सक्दिनँ, अहिलेसम्म बुवाको अवस्था के छ भन्ने कुरा जानकारीसम्म नहुँदा हामी मानसिकरूपमा समस्यमा परेका छौँ ।”

जाजरकोटबाट मात्र १२ जना बेपत्ता भएको सूची छ । उहाँहरुको अवस्थाबारेमा परिवारले जति पटक दबाब दिए पनि अवस्था सार्वजनिक नहुँदा परिवार पीडामा छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसीआरसी० ले सन् २०१२ मा निकालेको तथ्याङ्कअनुसार जाजरकोटमा नौ जनाको नाम बेपत्ताको सूचीमा छ भने मृत्यु भइसकेको जानकारी भएका तर, मानव अवशेष पत्ता नलागेका तीन जनाको नाम सूचीकृत गरिएको छ ।

आइसिआरसीको सूचीमा जाजरकोटका झुपबहादुर शाहीलाई २१ मङ्सिर २०६० मा, सुर्खेत वीरेन्द्रनगरबाट राज्य पक्षबाट पूर्णबहादुर सिंहलाई २८ वैशाख २०६२ मा, जाजरकोटको खलङ्गाबाट राज्य पक्षबाट मानबहादुर सिंहलाई २५ असार २०५७ मा, जाजरकोटको रामीडाँडाबाट राज्य पक्षबाट मोतीराम मल्ललाई १२ माघ २०५८ मा, जाजरकोटको थालारैकरबाट राज्य पक्षबाटै रामप्रसाद खनाललाई १२ मङ्सिर २०५८ मा, जाजरकोटको खलङ्गाबाट विद्रोही पक्षबाट वीरेन्द्र शर्मालाई १० मङ्सिर २०६१ मा, राज्य पक्षबाट जाजरकोटको सुवानाउलीबाट शिवप्रसाद शर्मालाई १३ फागुन २०५७ मा र बाँकेको नेपालगञ्जबाट राज्य पक्षबाट शिवबहादुर सिंहलाई १७ मङ्सिर २०६० मा बेपत्ता बनाइएका छन् ।

त्यसैगरी आइसिआरसीले मृत्यु भइसकेको जानकारी भएका तर मानव अवशेष पत्ता नलागेकाको सूचीमा जाजरकोटका खम्बे कामीलाई २१ चैत २०५४ मा खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको, गुमानसिंह रानालाई १ चैत २०५५ मा सुर्खेतको राकम बादापिपलबाट राज्य पक्षले पक्राउ गरेको, भूमिलाल बस्नेतलाई १५ कात्तिक २०५५ मा जाजरकोटको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको र विष्णु वटालालाई उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.