राजनीति

देशको हितभन्दा सत्ता समीकरण प्रधान हुनु खेदजनक

विवेकशील साझा पार्टीले एमसीसीमा अब थप राजनीति हुन नहुने बताएको छ । पार्टीले आज एक विज्ञप्ति जारी गरी एमसीसीमा भएको राजनीतिको नांगो रुप हिजो देखिएको पनि बताएको छ ।

विवेकशीले विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको रै संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको बताएको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ एमसीसी कम्प्याक्ट सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै अन्ततः कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको छ ।

त्यसै गरी सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ सङ्केत नभएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन ।

त्यसै गरी एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण, अनुदान लिनु र सन्धि, सम्झौता हुनुपूर्व गरिनुपर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुने सुझाव दिइएको छ ।

आधा भरिएका नैतिकताहीन ढ्वाङहरूको स्वार्थ केन्द्रित नेतृत्व कायम रहेसम्म हामी एकपछि अर्को विभिन्न किसिमका काण्डमा फसिनै रहने स्पष्ट पार्दै आगामी निर्वाचनले त्यस्तो नेतृत्वलाई फाल्न दिने मौकाको भरपुर सदुपयोग गर्न विवेकशील साझा पार्टी देशभक्त आम नेपाली नागरिकलाई हार्दिक अपिल समेत गरेको छ ।

विवेकशील साझा पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधनबिना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता रहेको पनि बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.