खेलफूटबल

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि जोर्डनको सामना गर्ने

लेबनानलाई पराजित गर्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलको ७५ मिनेटसम्म एक गोलले पछिपरेको अवस्थालाई उल्ट्याउँदै नेपालले खेलमा पुनरागमन गरेको हो । नेपालको जितमा प्रिती राईको भूमिका महत्वपूर्ण रह्यो ।

राईले दोस्रो हाफलको इन्जुरी समयमको अन्तिममा गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकालेको हो । खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।

डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो । दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो ।

७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मीकुमारी घिसिङको पासमा गरेको प्रहार लेवानोनी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् ।

रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गरे पनि सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गरेकी हुन् । जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौं गोल हो ।

उनले पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराकविरुद्ध ५ र प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् । निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् ।

५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । तर नेपालको अबको प्रतिद्वन्द्वी सर्वाधिक ५ पटकको विजेता तथा साविक विजेता जोर्डन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.