रास्वपाले मोदीलाई पठाएको भनिएको पत्र ‘फेक’, कानुनी प्रक्रियामा जाने चेतावनी
फागुन १५ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको पत्र नक्कली रहेको सो पार्टीले स्पष्ट पारेको छ ।
पत्र सार्वजनिक भएपछि रास्वपा विदेश विभाग प्रमुख शिशिर खनालले भारतलाई पार्टीका तर्फबाट कुनै नेताले कुनै प्रकारको पत्र नठाएको दाबी गर्दै सामाजिक सञ्जालमा र केही सञ्चार माध्यमहरुमा सार्वजनिक पत्र आधिकारिक नभएको दाबी गर्नुभएको हो ।
खनालले भारतीय गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा रास्वपाका तर्फबाट आफू र उपसभापति डीपी अर्याल सहभागी भएको जानकारी दिंदै पार्टीका तर्फबाट अन्य कुनै पनि प्रकारको लिखित पत्र नगएको बताउनुभयो ।
मोदीलाई पठाइएको भनिएको सार्वजनिक पत्रमा नेपालको संविधान र संघीयताको संशोधनका विषयमा भारतको चासोलाई सम्बोधन गर्ने विषयसमेत उल्लेख छ । खनालले चुनावको मुखमा हारको मानसिकताले अत्तालिएका शक्तिहरू रास्वपाविरुद्ध भ्रम फैलाएको आरोप लगाउनुभएको छ ।
यसै गरी रास्वपा विदेश विभागले एक विज्ञप्ति जारी गरी सार्वजनिक पत्र नक्कली, किर्ते र कपोलकल्पित भएको स्पष्ट गर्दै दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य भनेको छ ।
विज्ञप्तिमा आम सर्वसाधारणलाई निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन अपिल गर्दै यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्