"बाँदरले समेत हेप्ने हामीलाई भारत अमेरिकाले किन नहेपोस"

मुलुकका पहाडी क्षेत्रका किसानले लगाएको बाली सखाप पारेर बाँदरले हैरान पारिरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले बाँदरले दिएको दुःख हटाउने प्रविधिको विकासमा लागिपरेको छ । सूचना प्रविधि विज्ञ महावीर पुनले फेसबुकमा लामो स्टाटस लेख्दै सो जानकारी दिनुभएको हो ।
उहाँले हामी आफैं समस्याको समाधान गर्नतिर पटक्कै नलाग्ने हुँदा नै बाँदरले समेत हेपेकोमा भारत, अमेरिका जस्ता शक्तिशाली देशले किन नहेपोस् त भन्दै हामी आफूहरु केही नगर्ने पनि बाँदर नै हौ कि हैनौ भन्दै लेख्नुभएको छ–
“लौ त माननीय सम्पूर्ण नेपालीहरु ! बाँदरले दुख दिएको देशका हामी नै बाँदरहरु हौँ कि होइनौं भन्ने कुरामा जनमत लिंदैछु । “हामी बाँदर नै हौ” भन्ने कुरामा सहमत हुने जतिले लाइक र “हामी बाँदर होइनौं” भन्ने कुरामा सहमत हुने सबैले अनलाइक गरेर भोट गरौँ त । हामी सबैले दुख पायौं भन्न मात्र जान्ने तर दुख हटाउने उपाय खोज्दै नखोज्ने सन्दर्भमा यो जनमत लिएको हो ।”
“नेपालीहरुले समस्याहरु मात्र देखाउने तर त्यसको समाधानहरु निकाल्नको लागी अनुसन्धान तथा बिकास गर्ने परिपाटी पटक्कै न बसाल्ने र अनुसन्धानको लागी एक रुपैंया पनि खर्च गर्न बेस्सरी कन्जुस्याई गर्ने गर्दछौं। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारहरुले पनि सुन्नु होस्। जब सम्म नेपालमा यस्तो किसिमको संस्कार र संस्कृति रही रहन्छ तब सम्म नेपालीहरुलाई बाँदरले पनि हेप्छ। बाँदरले पनि हेप्ने हामीलाई भारतले र अमेरिकाले नहेप्ने ता कुरै भएन नि। बाँदरले दुख दिएको समस्या समाधान गर्न राष्ट्रिय आविष्कार केन्द्रले जोडतोडका साथ् प्रयास गरि रहेको छ ।”