सरकारले गठन गर्यो कोरोना संक्रमण रोक्न उच्चस्तरीय समन्वय समिति

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिने उच्चस्तरीय समिति बनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरिएको हो ।
पछिल्लो समय चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि नेपालमा निर्वाधरुपमा ती देशका नागरिकहरु आएपछि आलोचना भएरहेका बेला सरकारले उच्च सतर्कता अपनाउन लागेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि शनिबार बालुवाटारमा बसेको मन्त्रीहरुको बैठकले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको हो ।
गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ । बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो । अब यो समितिले नै यसबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्