अस्पताल भर्ना हुनुअघि प्रम ओलीबाट भिडियो सन्देश आउने
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व भिडिओ सन्देश दिनुहुनेछ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले सामेबार साँझ प्रधानमन्त्रीले भिडिओबाट देशवासीलाई सन्देश दिने जानकारी दिनुभयो ।
सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उहाँको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा. डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुने छ ।
प्रत्यारोपणपूर्व उहाँको रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिनुभयो । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिने छ”, उहाँले भन्नुभयो ।
उहाँको मुटुको एन्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर, मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्