प्रबास

नेपालजापान डटकमलाई इञ्जा सम्मान

नेपाली भाषाको पहिलो अनलाइन समाचारपत्र नेपालजापान डटकमलाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले सम्मान गरेको छ । इञ्जा स्थापना दिवसका अवसरमा सोमबार राजधानी काठमाडौंमा सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा नेपालजापानसहित पत्रकार तथा संचार माध्यमहरुलाई पुरस्कृत र सम्मान गरिएको हो ।

कार्यक्रममा सभामुख सापकोटाले सङ्घीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भूमिका खेल्नुपर्ने खाँचो औँल्याउनुभएको छ । उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “विधि–विधान, कानून, नीति निर्माणमा हुने छिद्रताले गलत मनसाय राख्नेका लागि खेल्न सक्ने प्रशस्त ठाँउ दिने भएकाले कानून निर्माणमा शुद्धता, पवित्रता, गुणस्तर कायम गर्न सकिएमा मात्रै सुशासन कायम गर्न सकिन्छ ।”

राष्ट्रको उच्च ओहदाको जिम्मेवारीमा रहने व्यक्ति सबैभन्दा बढी अनुशासित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नियम कानूनको पालना सबैभन्दा बढी हामीले नै गर्नुपर्छ, आत्मानुशासन नै महान कुरा हो । बनाएका कानून के कति कार्यान्वयन भए, भएन त्यसको अनुगमन र निगरानी संसद्ले गर्नुपर्छ ।” संसद् विघटनपछि नेपाली पत्रकारिता जगतले अग्रमोर्चामा रही गरेको बहस पैरवीको सह्रना गर्दै उहाँले भन्नुभयो, “जनताको एकता, लोकतन्त्र, लोकतान्त्रिक मूल्यमान्यता र शान्तिपूर्ण ढङ्गबाट अघि बढ्ने मनमस्तिष्कलाई पनि सञ्चार क्षेत्रले सश्लेषण गर्नुपर्छ, नेपाली पत्रकारिता जगतको हालसम्मको भूमिका गौरव गर्न लायक छ ।”

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारीलाई पनि सो अवसरमा विशिष्ट पत्रकार सम्मान, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्राध्यापक लालदेउसा राईलाई रु ६१ हजार १११ नगदसहित इञ्जा दीर्घसेवा सम्मान प्रदान गरियो ।

सो विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले पत्रकारिता स्वतन्त्रता, समाज र राष्ट्रका लागि हुनुपर्छ भन्दै सम्मानित व्यक्तित्व राई नेपाली पत्रकारिता क्षेत्रको पुरकका रुपमा रहनुभएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश बुढाथोकी, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, लेखक पराजुली, पुरस्कृत व्यक्तित्व निरा गौतमलगायतले पत्रकारिता क्षेत्रमा लगानशीलता र निरन्तरता तथा सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

इञ्जाका एशियाका अध्यक्ष टङ्क पन्तले अमेरिकाको भर्जिनियामा केन्द्रीय कार्यालय रहेको इञ्जाले पत्रकारितालाई व्यावसायिक बनाउन र अप्ठ्यारोमा परेका पत्रकारका लेखन वृत्तिमार्फत सहयोग पुर्याई पेसामा रहन प्रेरणा दिइरहेको जानकारी दिनुभयो ।

समारोहमा एक हजार डलर राशीको इञ्जा कृति पुरस्कार लेखक राजेन्द्र पराजुलीलाई र सोही राशीको इञ्जा खोजी पत्रकारिता पुरस्कार लोकान्तर अनलाइनका समाचार सम्पादक सुशील पन्त र नागरिक दैनिकका वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई प्रदान गरियो । राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेशका समाचारदाता निरा गौतम, कान्तिपुर दैनिक बझाडका समाचारदाता वसन्तप्रताप सिंह र नेपाल टेलिभिजनका दोलखा सम्वादताता मन्दिरा थापालाई एक हजार अमेरिकी डलर राशीको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.