राजनीति

ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग दिन योगेशको माग

पर्यटनमन्त्री भट्टराई

नेकपा दाहाल–नेपाल समूहका प्रेस सङ्गठन इञ्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन माग गर्नुभएको छ ।

पूर्वमन्त्री भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “बुधबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आगलागी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।” स्थानीय प्रशासनको प्रारम्भिक विवरणअनुसार आगलागीबाट ४७ वटा घर जलेर नष्ट हुँदा ७९ परिवार विस्थापित भएका छन् ।

अधिकांश घरमा पसल रहेकाले पसलका सम्पूर्ण मालसमान जलेर नष्ट भएका छन् । घरमा मानिसको आवास पनि रहेकाले घरायसी सामान पनि पूरै क्षति भएको छ ।

आगलागी हुन साथ त्यसलाई नियन्त्रणमा लिन स्थानीय जनसमुदाय तथा सुरक्षाकर्मीले गरेको प्रयत्नका बाबजुत साँघुरो बजार, खुला ठाउँको अभाव तथा दमकललगायत साधन अभावका कारण ठूलो मात्रामा क्षति हुन पुगेको छ ।

आगलागीलाई नियन्त्रणमा लिन प्रयत्न गर्ने स्थानीय जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दमकल चालक, स्वयंसेवकलगायत सबैमा भट्टराईले धन्यवाद व्यक्त गर्नुभएको छ ।

भट्टराईले विज्ञप्तिमा भन्नुभएको छ, “आगलागीका कारण आवासविहीन भएका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछु ।” पीडितप्रति सहानुभूति प्रकट गर्दै आवश्यक राहत तथा पुनः स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने भट्टराई प्रतिबद्धता गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.