जन सरोकार

लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । म्याग्दी जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो ।

डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि औँजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने विश्वकर्माले बताएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।

“गाउँगाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन्” धवलागिरि गाउँपालिका– ७ का प्रकाश सुवेदीले भन्नुभयो, “एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले उनीहरुको आकर्षण बढेर गएको हो ।”

पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उहाँले बताउनुभयो ।

८ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम ३ देखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने भएपछि केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा नपुगेका म्याग्दीका दुर्गम गाउँमासमेत टुकी र दियालो छोडेर स्थानीयवासीले सोलार प्रयोग गर्न थालेका रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुर्जाले बताउनुभयो ।

सोलार जडान गरेपछि राति छोराछोरीलाई पढ्न र आफूलाई टेलिभिजन हेर्नसमेत सजिलो भएको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले बताउनुभयो । गाउँले वैैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित् प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन् ।

हराउँदै गयो आरन पेशा

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले म्याग्दीमा आरन पेसा पनि लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको तीन वर्षअघि सो पेसा छोडेर ज्याला मजदूरीका काम गर्न थाल्नुभएका मालिका गाउँपालिका– ३ का श्यामबहादुर विश्वकर्माले बताउनुभयो ।

अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाले सो पेशालाई छाडदै गएको उहाँको भनाइ छ । “युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको छ” उहाँले भन्नुभयो, । गाउँमा म मात्र यो पेसा एक्लै धान्दै आएको थिएँ । दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठेको छ, कसैको सहयोग छैन, तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग नभएकाले पेसा नै परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो ।

नयाँ पुस्ताले यस्तो पेसा छाड्दै गएका कारण आरन हराउँदै गएको स्थानीयवासी तोरणलाल विकले बताउनुभयो । राज्यले अरु पेसा व्यवसायीलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिएको भए जीवन पनि सुधार हुने उहाँको भनाइ थियो ।

एक पाथी अन्नको भरमा वर्षभरि औँजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उहाँले बताउनुभयो । सिलाइमा समाजको व्यवहार र दृष्टिकोण परिवर्तन भए पनि आरन पेसामा भने परिवर्तन हुन नसकेको विश्वकर्माको भनाइरहेको छ । आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेसा ओझेलमा पर्न थालेको बताइन्छ ।

पुरानो सम्पदा संरक्षणमा स्थानीयवासीको चासो

मालिका गाउँपालिका–७ बिममा रहेको ११५ वर्ष पुरानो धार्मिक तथा ऐतिहासिकस्थलको प्रचारप्रसार र संरक्षणमा स्थानीयवासी जुटेका छन् ।

करिब ११५ वर्ष अघि बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले विसं १९६२ तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य भेटिएपछि डा रुद्रानन्द ब्रह्मचारीको प्रमुख अध्यक्षतामा आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानको घोषणा भएको हो ।

बिमको प्रभुचेला धुरीको नामले चिनिने ऐतिहासिक तपोस्थललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पलवीर जुग्जालीको अध्यक्षतामा समिति नै गठन गरेर स्थानीय प्रभुचेला ध्यानाश्रम निर्माणार्थ प्रभुचेला ध्यानाश्रम तदर्थ समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा बुद्धिबहादुर जुग्जाली, सचिव खिमबहादुर जुग्जाली, सहसचिव लक्ष्मण गौतम, कोषाध्यक्ष कालिप्रसाद जुग्जाली, सहकोषाध्यक्ष ओममाया जुग्जाली रहनुभएको छ । बिममा रहेको प्रभुचेला धुरी र स्वर्गाद्वारी क्षेत्र बिचको सहकार्य र अभियानलाई जोड्न योग गुरु नवीन जुग्जाली संयोजक र सहसंयोजक रुविन जुग्जालीलाई चयन गरिएको छ ।

समुद्र सतहदेखि करिब दुई हजार ४०० मिटर उचाईमा अवस्थित प्रभुचेला धुरीको खोज तथा अनुसन्धानको सिलसिलामाम करिब २ वर्ष अघि स्वर्गद्वारी आश्रम प्युठानमा पुगिएको थियो ।

स्वर्गद्वारी आश्रमबाट गत फागुन १० मा स्वामी डा रुद्रानन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोलहरु बिम गाउँको प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गर्नुभएको मालिका गाउँपालिका ७ विमका वडाअध्यक्ष सुविन जुग्जालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button