क्रिकेटखेल

त्रिकोणात्मक टी-२० शृंखला : नेपालको सानदार जित, नेदरल्यान्ड्स छ विकेटले पराजित   

काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो  ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रन बनाए भने टिम भान डेर गुग्टेनले २४, रोलोफ भान डेर मार्वीले अविजित २३ र कप्तान स्कट एड्वार्डसले १८ रन जोडे ।

नेपालका लागि प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले समान दुई-दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले ४६ रन बनाए भने गुल्सन झाले ३८ र कुशल भुर्तेलले १२ रन बनाए ।

रोहित र गुल्सनले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन तथा आर्यन दत्तले एक विकेट लिए । जितसँगै चार खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै फाइनल सम्भावना बलियो बनाएको छ भने तीन खेलमा चार अंक नै जोडेको नेदरल्यान्ड्स रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ ।

नेपाल यसअघि नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो भने शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको थियो । यता नेदरल्यान्ड्सले भने नामिबियालाई ५९ रनले हराएको थियो । अब लिग चरणको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.