जल/वातावरण

कोरोनाको उच्च जोखिममा नेपाल : विदेश नजान आव्हान, भोजभतेर, भीडभाड, सभा गोष्ठी नगर्न निर्देशन

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ का कारण नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्व सावधानी अपनाउन आह्वान गर्दै अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।

अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ ।

त्यसैगरी विवाह, ब्रतबन्धलगायत सामाजिक संस्कारलाई पारिवारिक जमघटमा सीमित राख्न, सभा, सम्मेलन नगर्न, भीडभाडमा नबस्न, लामो समय बाहिर नहिँड्न, सुरक्षा मास्क तथा सम्पूर्ण सावधानी र सतर्कता अपनाउन आम नागरिकमा सरकारले अनुरोध गरेको छ । साथै सरकारले सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको छ भने आआफ्नो तहबाट सुरक्षाका सबै उपाय अपनाउन र सचेत रहन आग्रह गरेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन भएको र त्यसले सक्रियताका साथ पूर्वतयारी, आपत्कालीन अवस्था उत्पन्न भएमा गर्नुपर्ने व्यवस्थापकीय कार्यलगायतको विश्लेषण, मूल्याङ्कन र भावी रणनीतिबारे सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

विश्वस्तरको संवादमञ्च सगरमाथा संवाद कार्यक्रम स्थगन भएको जानकारी दिन आज अपराह्न आफ्नै मन्त्रालयमा गर्नुभएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीका विविध जिज्ञासाको जवाफ दिने क्रममा कोरोनाबाट बच्न सरकारीस्तरबाट भएका प्रयासबारे उहाँले जानकारी दिनुभएको हो ।

परराष्ट्र मन्त्रीले खरिपाटीको क्वारेन्टाइनलाई नियमित गर्ने बताउँदै हाललाई कम्तिमा १०० श्याको ‘आइसोलेसन बार्ड’ को प्रबन्ध मिलाइएको तथा आपत्कालीन अवस्थामा सबै अस्पताललाई तयारी हालतमा रहन आग्रह गरिएको जानकारी पनि उहाँले दिनुभयो । विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने परिस्थिति उत्पन्न भएमा भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई नियमित गर्ने तथा काठमाडौँ उपत्यका तथा प्रदेशमा रहेका सरकारी–निजी अस्पताल, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई ‘ आइसोलेसन वार्ड’ को प्रबन्ध मिलाउन र तयारी अवस्थामा रहन निर्देशन सरकारले दिएको छ ।

त्यसैगरी विदेशस्थित ३० वटा नेपाली दूतावास, राष्ट्रसङ्घका लागि तीनवटा नियोग र छ वटा महावाणिज्य दूतावासलाई सतर्क रहन र उद्धार एवं समन्वयका लागि अहोरात्र खट्ने गरी प्रबन्ध मिलाउन निर्देशन दिइएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

दुबइबाट तीस नेपाली फर्काइए

विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएको उहाँले बताउनुभयो । कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वरुप त्यहाँको सरकारले फर्काएको हुनसक्ने उहाँले बताउनुभयो ।

आगमन प्रवेशाज्ञा नदिइने

विश्वका विभिन्न देशमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला सङ्क्रमण देखिएका देशबाट नेपाल आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ जारी नगर्ने निर्णय पनि सरकारले गरेको छ । यही फागुन २७ गतेदेखि उक्त निर्णय लागू हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

चीनका लागि राजदूत सिफारिस

मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिँदै राजदूत रिक्त रहेका अन्य देशमा अब हुने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताउनुभयो ।

पूर्व प्रशासकभन्दा उच्च राजनीतिकस्तरमा भएको यो सिफारिसलाई अन्यथा लिन नहुने भन्दै उहाँले चीनसँगको सम्बन्धलाई थप उचाइमा पु¥याउन राजनीतिकतहको उच्च व्यक्तित्वको सिफारिसबाट बल पुग्ने भएकाले पूर्वमन्त्री पाण्डेलाई सिफारिस गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम स्थगन

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिनुभएको छ । उहाँको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उहाँ अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन अपिल गर्दै नआत्तिन र उच्च सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.