जन सरोकार

बाबु कारागारमा, आमाले अर्को विवाह गरेर गएपछि नाबालकको बिचल्ली

छेउछाउका घरहरु पक्की अवस्थामा छन् तर धादिङ धुनीबेंसी नगरपालिका ढकालखोला निवासी ११ वर्षीया सपना तामाङको घर पुग्दा उनीहरु एउटा खोरमा भोकै बसेको अवस्थामा भेटिए । कालो भएको जस्ताको टहरोमा जीवन गुजारा गरिरहेका सपनाका हजुरबुबा र बहिनी समस्याग्रस्त जीवन बिताइरहेका छन् ।

११ वर्षीया सपनाले पेटभरि भात नखाएको आठ वर्ष भयो । ज्यान मुद्दा लागेर सपनाका बाबु जेलमा छन् । त्यतिखेर सपना सानै भएकाले कसरी घटना भयो थाहा भएन तर बाबु जेलमा परेपछि आमा पनि जेल परे । केही समयपछि आमाले सफाइ पाएर छुटिन् । बाबु नभए पनि सहाराका रुपमा आमा हुनुहुन्छ भन्ने आशामा बसेकी सपना तामाङ घर फर्केको केही समयपछि आमाले घर छाडेर अर्कैसँग विवाह गरेर गएपछि सपनाको सहारामात्र हराएन जिम्मेवारीसमेत थपियो ।

सपनासँगै एक वर्षमात्र सानो बहिनी विपना अहिले १० वर्षकी भइन् । उनैले हेर्नुपर्ने भयो । उनीहरु सानै भएकाले बाबुआमाले ज्याला गरेर ल्याएर परिवार पाल्दै आएका थिए । गरिबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भने झैं सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा जेठा तामाङमात्र हुनुहुन्छ । घरमा खाने अन्न छैन । पुरानो र कालो भइसकेका पकाउने भाडा अनि अँगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्ध भत्ताले किनेको चामल बचाई बचाई खान्छन् ।

योभन्दा बढी अब उनीहरुसँग कुनै आम्दानी छैन । कुनै समय वृद्ध भत्ता ढिला आयो भने कैयौं दिनसम्म उनीहरु भोकै बसेका र छिमेकीले खानेकुरा दिने गरेका सपनाले भक्कानिएर भनिन् । विद्यालय जानका लागि पोसाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनीहरुसँग एक जोर त्यो पनि ज्यादै पुरानो छ । खाना खाने भाँडासमेत छैनन् । पकाउने भाडा कालो भएर प्वाल पर्न लागेका छन् ।

यो अवस्था देख्दा सम्बन्धित निकायको ध्यान किन नगएको होला भनी प्रश्न गर्दै सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षक सरस्वती रिमालले आफूले सकेको सहयोग उपलब्ध गराउने बताउनुभयो । “मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु, म केही सहयोग गर्ने छु”, रिमालले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.