जल/वातावरण

हरेक दिन ब्रुमर लगाए पनि धुलोमुक्त भएन काठमाडौं- कारण यस्तो छ

अघिल्लो वर्षदेखि काठमाडौंका सडकमा ब्रुमरले सफा गर्न थाले पनि अझै धुलोमुक्त हुन सकेको छैन । यसको कारण भने शहरका भित्री सडकहरु रहेका छन् ।

भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिकालाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ ।

विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर सञ्चालन गर्दै आएको छ । त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सहायक सडमा खाल्डा पुर्ने काम नहुँदा धुलोमुक्त काठमाडौँ हुनसकेको छैन । कामपाले नियमित धुलो सफा गरिरहेको छ । प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेकाले पछिल्लो समय उपत्यका सुन्दर देखिन थालेको छ ।

मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा सकारात्मक सुधार आएको छ ।

सरकारले उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नति समेतलाई प्राथमिकता दिएर काम गरिरहेको छ । पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । यद्यपि भित्री र शाखा सडकमा समस्या यथावत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसमेत राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति क्रमशः भएको पाइन्छ । तर साना सडकको मर्मतसम्भारका लागि सम्बन्धित भएका निकायले त्यति ध्यान नदिँदा ठूला सडकमा पनि त्यसको असर परेको कामपाले जनाएको छ ।

मुख्य सडक पनि केही वर्षअघिसम्म धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठूलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या निकै हराएर गएको छ ।

सम्बन्धित खबर

Back to top button