खेल

नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने

नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।

देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो ।

तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।

यसै गरी नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.