खेलविविध

प्रथम ओलम्पियन मेनुकालाई वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले सम्मान गर्ने

नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ ।

‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो ।

मेचीनगर नगरपालिका–७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर भाग लिनुभएको थियो ।

नेपालको इतिहासमै एथ्लेटिक्स महिला धावकका रुपमा यहाँबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताउनुभयो ।

आज आयोजित पत्रकार सम्मेलन अध्यक्ष सिटौलाले नेपाली महिला विश्वस्तरीय प्रतियोगितामा आफूलाई सक्षम सावित गर्न सक्छन् भन्ने उदाहरण मेनुकाले प्रस्तुत गरिसकेकाले उहाँलाई उत्कृष्ट नारी सम्मान गर्न लागिएको गरी जानकारी दिनुभयो ।

पूर्व अध्यक्ष क्लबले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र वीरता जेसीजका पूर्वअध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो ।

छनोट समितिकी सदस्य भण्डारीले पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरिएको आज घोषणा गर्नुभएको थियो ।

क्लबले यसअघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.