जन सरोकार

मिर्गौला प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पताल देशकै अब्बल

– यादब देवकोटा
टिचिङ

यतिबेला देश विदेशको ध्यान काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छ किनभने त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।

नेताहरुकै व्यवहारका कारण सरकारी अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावकारी छैन भन्ने भान आम जनतामा परेका बेला देशका कार्यकारी प्रमुखले मिर्गौला प्रत्यारोपण जस्तो जटिल र जोखिमपूर्ण कार्य स्वदेशको सरकारी अस्पतालमा लगाएपछि सबैको ध्यान तानिनु स्वाभाविक हो ।

तर यहाँका सरकारी अस्पतालको सेवा विश्वस्तरीय छ भन्ने चाहिं शंका छैन । प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा भैरहेका बेला सरकारी अस्पतालको सेवा गुणस्तरका बारेमा चर्चा सुरु भएको छ । सो अस्पतालले मिर्गौलादेखि कलेजोसम्मको अत्यधिकक सफलतापूर्वक प्रत्यारोपण गरेको विगतको इतिहास छ ।

त्यस्तै शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण प्रधानमन्त्री ओलीको पहिलो हैन । यसअघि १० वटा बिरामीको अपरेसन त्यहाँ भैसकेको छ र १० वटामै सफल भएको छ । उक्त अस्पतालमा पहिलो पटक गरिएको प्रत्यारोपणको सफलता पनि झन्डै ९९ प्रतिशत छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिर्गौला प्रत्यारोपण गरिसकेपछि त्यो मिर्गौलाले एक वर्षसम्म काम गर्ने तथ्यांक ९५ देखि ९७ प्रतिशत भयो भने त्यसलाई मिर्गौला प्रत्यारोपणको सफलताको आँकडा मानिन्छ । त्रिवि शिक्षण अस्पतालको तथ्यांक हेर्ने हो भने हो भने ९८ दशमलव ७ प्रतिशत छ ।

हुन पनि नेपालभरिमा झन्डै १५ सय मिर्गौला प्रत्यारोपण भएकामा शिक्षण अस्पतालमै ७ सय पुगेको छ । त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म सबैभन्दा कम ८ वर्षको र सबैभन्दा बढी ७५ वर्षसम्मका मिर्गौला प्रत्यारोपण गरेका छन् ।

यसअघि २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजोको प्रत्यारोपण भएको थियो । अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा। रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले ५८ वर्षका बिरामीमा कलेजो प्रत्यारोपण गरेको हो । लिभर सिरोसिस भएर कलेजो बिग्रिका ५८ वर्षका बुवालाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी थिइन् ।

यसअघि २०७५ सालमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकको सहयोगमा पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो ।
पाँचजना अन्तर्राष्ट्रिय चिकित्सकको टोली र नेपाली चिकित्सक टोलीले करिब १० घन्टा लगाएर भक्तपुरका ३६ वर्षीय बलराम नागाजुको कलेजो प्रत्यारोपण गरेका थिए । बलरामलाई उनकी दिदी ४१ वर्षीया सानुमायाँ लागेजुले कलेजो दान दिएकी थिइन् ।

संसदले मानव अंग नियमन तथा प्रत्यारोपणसम्बन्धी नियमावलीले ‘ब्रेन डेथ’ भएका बिरामीबाट कलेजोसँगै अन्य सात अंग निकालेर प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेपछि अत्यन्तै जटिल र महँगो उपचार मानिने कलेजो प्रत्यारोपण नेपालमै सुरु भएको हो ।

सरकारले चार वर्षअघि मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनमा ल्याएको हो । मिर्गौला प्रत्यारोपणमा मिलेको सफलतामा उत्साहित केन्द्र र त्यहाँका चिकित्सक स्वास्थ्य मन्त्रालयबाट समयमै सहयोग पाउँदा कलेजो प्रत्यारोपण प्रक्रियामा सक्रिय बनेका थिए र सफल पनि भएको थियो ।

जटिल भएकाले विश्वमै कलेजो प्रत्यारोपण महँगो मानिन्छ । भारतमा सरकारी स्तरको गंगाराम अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । विश्वकै बढी मानव अंग प्रत्यारोपण हुने दिल्लीको अपोलो अस्पतालमा सन् १९९८ बाट सुरु भएको कलेजो प्रत्यारोपणको सेवा १५ सयजनाले लिइसकेका छन् । नेपालमा सेवा नहुँदा सयौं नेपालीले त्यहीं पुगेर कलेजो प्रत्यारोपण गरेका छन् ।

बलरामलाई पनि कलेजो प्रत्यारोपणका लागि भारत लगिएको थियो तर प्रत्यारोपणमा मात्रै करिब ५० लाख रुपैयाँ खर्च हुने देखिएपछि उनलाई फर्काइएको थियो । केन्द्रले कलेजो प्रत्यारोपणको तयारी गर्न थालेको सूचना आउन थालेपछि सम्बन्धित चिकित्सकको सम्पर्कमा पुगेका बलरामको कलेजोको सफल प्रत्यारोपण भएको हो । नेपालमा करिब १५ लाखमा कलेजो प्रत्यारोपण हुनसक्ने अनुमान गरिएको छ । बलरामको भने निःशुल्क प्रत्यारोपण गरिएको हो ।

मिर्गौला र कलोजो जस्तो जटिल मानवअंगको सफल प्रत्यारोपण गर्न नेपालका अस्पताल र चिकित्सकहरु सफल भैरहेका छन् । नेपाली चिकित्सकहरुको क्षमतालाई विश्वास गरेर नै प्रधानमन्त्री ओलीले यही दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेको अस्पताल भर्ना हुनुअघि दिनुभएको एक सन्देशमा बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.