विश्व समाचार

बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई भविष्यको चिन्ता

बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले प्रधानमन्त्रीले आफूलाई किन घृणा गर्नुहुन्छ भन्ने ‘लाखौँ डलरको प्रश्न’ भएको बताउनुभएको छ । यद्यपि धेरै मानिसले प्रधानमन्त्रीले उहाँलाई राजनीतिक खतराको रूपमा हेर्नुभएको विश्वास गर्छन् ।

त्रियासी वर्षीय युनुसलाई उहाँको अग्रणी लघुवित्त बैंकका साथ लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ तर उहाँले लामो समयसम्म प्रधानमन्त्री शेख हसिनाको दुश्मनी कमाउनु भएको छ ।

एउटा आपराधिक मुद्दामा उहाँलाई सजाय दिइएको केही सातापछि गत महिना उहाँका धेरै फर्महरूलाई ‘जबर्जस्ती’ कब्जामा लिइएको थियो । उहाँका समर्थकहरूले उहाँलाई दिइएको सजाय राजनीतिकरूपमा प्रेरित भएको बताएका छन् ।

“उहाँ मलाई खुन चुसाहा भन्नुहुन्छ, मलाई सबै फोहोर शब्दले गाली गर्नुहुन्छ”, युनुसले हसिना स्वयंलाई सिधा आरोप लगाउन सावधानी अपनाउँदै भन्नुभयो, “उहाँ मलाई किन घृणा गर्नुहुन्छ ? केही मानिस यो राजनीतिक हो र उहाँ मलाई एक राजनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्नुहुन्छ भन्छन् ।”

जनवरीमा युनुस र उहाँले स्थापना गर्नुभएका कम्पनीहरूमध्ये एक ग्रामीण टेलिकमका तीन सहयोगीलाई श्रम कानूनको उल्लङ्घन गरेको आरोपमा छ महिनाका लागि कारागार सजाय सुनाइएको थियो । चारै जनाले ती आरोपहरूलाई अस्वीकार गर्नुभएको छ र पुनरावेदन विचाराधीन रहेसम्म जमानत दिइएको छ ।

श्रम कानूनको उल्लङ्घन र कथित भ्रष्टाचारको आरोपमा एक सयभन्दा धेरै अन्य आरोपहरूको सामना गरिरहनुभएका युनुसले आफ्ना कम्पनीहरू जबर्जस्ती अधिग्रहण गर्नु लोकतन्त्रको अभावले भएको बताउनुभयो ।

“ती मुद्दा कमजोर आधारमा बनाइएका हुन्”, गत साता राजधानी ढाकामा एक अन्तरवार्तामा उहाँले भन्नुभयो, “म यसका लागि कुनै कानूनी आधार देख्दिनँ, सम्भवतः यो राजनीतिकरूपमा प्रेरित हो ।”

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान कि मुनसहित करिब एक सय ६० वैश्विक हस्तीहरूले गत वर्ष एक संयुक्त पत्र प्रकाशित गर्दै युनुनको ‘निरन्तर न्यायिक उत्पीडन’ को निन्दा गर्नुभएको थियो ।

उहाँका एक सयभन्दा धेरै नोबेल पुरस्कार विजेता साथीसहित हस्ताक्षरकर्ताहरूले उहाँहरूलाई ‘उहाँको सुरक्षा र स्वतन्त्रता’ को डर भएको बताएका छन् ।

विपक्षीहरूको व्यापक बहिष्कार र आफ्ना राजनीतिक विरोधीहरूविरुद्ध ठूलो कारवाहीसँगै वास्तविक विपक्षी दलहरूबिनाको मतदानमा ७६ वर्षीया हसिनाले जनवरीमा आफ्नो लगातार चौथो आम निर्वाचन जित्नुभयो ।

बङ्गलादेशी अदालतहरूमाथि आलोचकहरूले हसिना सरकारले लिएका फैसलालाई औपचारिकरूपमा अनुमोदन गरेको आरोप लगाएका छन् ।

“यो एक दलीय राज्य हो किनकी अन्य दलहरूको कुनै गणना हुँदैन, हामी आफ्नो विचार व्यक्त गर्न सक्तैनौँ र मतदान केन्द्रमा गएर आफ्नो मताधिकारको प्रयोग गर्न सक्तैनौँ”, आलोचकहरूले भनेका छन् ।

सन् २००७ मा युनुसले दशकौँदेखि हसिना र उहाँका प्रतिद्वन्द्वी खालिदा जियाको प्रभुत्वमा रहेको राजनीतिमा तेस्रो विकल्प प्रस्तुत गर्नका लागि ‘नागोरिक शक्ति’ अर्थात ‘नागरिक शक्ति’ आन्दोलन सुरु गर्नुभएको थियो । तर सत्ता सङ्घर्ष र झगडाका प्रतिद्वन्द्वीहरूले आफूलाई निराश बनाएपछि उहाँले राजनीतिबाट पछि हटेको बताउनुभयो ।

“म कुनै राजनीतिक व्यक्ति होइन, मैले त्यस्तो गर्दिनँ, त्यसैले मैले कुनै राजनीतिक दल खोल्न गइरहेको छैन भनेर तुरुन्त घोषणा गरेँ”, उहाँले भन्नुभयो । उहाँले लोकतान्त्रिक अधिकारहरूको अत्यावश्यकतामाथि जोड दिनुभयो ।

“यदि तपाईंसँग लोकतन्त्र छैन भने मानवअधिकार लोप हुन्छ”, उहाँले भन्नुभयो, “किनकी कसैले आपत्ति गर्दैन, तपाईंको रक्षा गर्ने कोही छैन, कानूनको शासन हराएको छ ।”

उहाँ आफ्ना कम्पनीहरू कब्जा गर्ने पछिल्लो प्रयास सरकारले गरेको थियो भन्नेबारे नबोल्न सतर्क हुनुहुन्छ तर उहाँले आधिकारिक प्रतिक्रियाको पूर्ण अभाव रहेको बताउनुभयो ।

“कानूनको शासन भए भवन, कार्यालयका विषयमा म प्रहरीकहाँ जाँदा प्रहरी तुरुन्तै आइपुग्छ किनकी उनीहरूको जिम्मेबारी मेरो रक्षा गर्नु हो”, उहाँले भन्नुभयो, “प्रहरीले यस्तो गरेको छैन, उनीहरू गए मात्र, उनीहरूले केही पनि गल्ती देखेनन्, यो कानूनको शासन होइन ।”

उहाँलाई कार्बन उत्सर्जन कम गर्ने, बेरोजगारी अन्त्य गर्ने र गरिबी घटाउने उद्देश्यको ‘थ्रि जिरो’ योजनाको भविष्यमाथि डर छ । “मलाई कारागारमा हालियो भने मानिसहरूले नयाँ संसार बनाउनका लागि आफ्नो दिन–रात खर्च गरिरहेको यो विश्वमा जारी सम्पूर्ण आन्दोलनका लागि ठूलो धक्का हुनेछ”, उहाँले भन्नुभयो ।

यद्यपि स्विट्जरल्यान्ड वा अमेरिकामा स्व–निर्वासनमा काम जारी राख्ने प्रस्तावलाई अस्वीकार गर्दै युनुस बङ्गलादेशमै बस्न कटिबद्ध हुनुहुन्छ ।

“मलाई यहीँ रहनुपर्छ र यहीँबाट सबै सुरु भएको छ”, उहाँले भन्नुभयो, “यो म मात्र होइन, यसप्रति समर्पित मुलुकभर मेरो पूरा समूह छ, उनीहरूले सम्पूर्ण जीवन यसैमा बिताएका छन्, यदि म स्थानान्तरण भएँ भने सम्पूर्ण कुरा बिग्रिने छ, यसले सम्पूर्ण कुरा नष्ट हुनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.