राजनीति

नयाँ सत्ता समीकरण ‘एनिमल फार्म’ को नयाँ संस्करण

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरानो गठबन्धन भत्काएर बनाइएको नयाँ सत्ता समीकरणलाई ‘एनिमल फार्म’ को नयाँ संस्करणका रुपमा परिभाषित गर्नुभएको छ ।

पुरानै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै डा. भट्टराईले सत्ताको फोहरी खेलले जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने बताउनुभएको छ ।

उहाँले सत्ताको केही चतुरेहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले जनता र नयॉ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने बताउनुभएको छ ।

डा. भट्टराईको टिप्पणी यस्तो छ-
नेपाली ‘किस्सा कुर्सीका’ळे केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो ! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो ।

केही निरीह सांसदको पोको बोकेर एउटासंग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसंग घाँटी जोड्दा ‘ वामपन्थी/कम्युनिष्ट एकता निम्ति’ भन्ने ! यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसंग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने !

विचरा सोझा कार्यकर्ता किंकर्तव्य विमुढ बनेर मनलागीनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो ? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बाॅकीरहेकाहरूले भन्नैपर्छ – अब अति भो ! Enough is Enough!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.