विश्व समाचार

कोरोना प्रभावित न्यून आय भएका मुलुकलाई विश्व बैंकले दिने भो १२ अर्ब डलर

विश्वभर फैलिंदै गएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को असर न्यूनीकरणका लागि विश्व बैंकले १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ । सो रकम विकासशील राष्ट्रका लागि फास्ट ट्रयाकबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।

विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले विकासशील राष्ट्रले नोभेल कोरोना भाइरसको प्रकोप र असरसँग जुझ्न आवश्यकता अनुसार सहायता लिनसक्ने बताउँदै यो आपत्कालीन सहयोग रहेको र संकटसँग जुझ्न विश्व बैंकले नीतिगत सुझाव, प्राविधिक सहयोग र विशेषज्ञताको प्रयोग गरी सम्बन्धित राष्ट्रलाई सहयोग गर्नेछ बताउनुभएको छ ।

फास्ट ट्रयाक प्याकेज अन्तर्गत विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ । राष्ट्रिय आवश्यकताअनुसार विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडीए), पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले आपसमा मिलेर काम गर्नेछन् ।

१२ अर्ब अमेरिकी डलर सहयोगमध्ये ८ अर्ब नयाँ सहयोग रकम हो । बाँकी ४ अर्ब विश्व बैंक र आईएफसीका विद्यमान पोर्टफोलियोलाई पुनःप्राथमिकीकरण गरिएको हो । २.७ अर्ब अमेरिकी डलर आईबीआरडीबाट, १.३ अर्ब आएडीए र २ अर्ब अमेरिकी डलर विश्व बैंककै विद्यमान पोर्टफोलियोमै पुनः प्राथमिकीकरण गरिएको हो ।

कोरोना अहिलेसम्म ६० भन्दा बढी देशमा फैलिसकेको छ । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव सिर्जना गर्न सुरु गरिसकेको परिप्रेक्ष्यमा विश्व बैंकले प्रारम्भिक रूपमा घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुझ्न खर्च गरिनेछ । यो प्याकेजमा आईडीएका तर्फबाट न्यून आय भएका मुलुकमा अनुदान, सहुलियत ऋण समावेश छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.