जल/वातावरण

आन्तरिक विमानस्थलहरुमा कोरोना सहायता कक्ष

कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा बिहिबारदेखि कोरोना भाइरस सहायता कक्ष स्थापना गरिएको छ ।भारतलगायत तेस्रो देशका मानिसको समेत आवतजावत हुने विमानस्थलमा कोरोना भाइरसविरुद्ध सचेतना अपनाउँदै विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिका, स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले जानकारी दिनुभयो ।

यसै गरी नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो ।

गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो ।

प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन् । उनीहरूले जहाजबाट झरेका यात्रुहरूको अवस्था बुझेर शङकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् ।

विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरू धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो । बीचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुन सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कार्यालयलेसूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरूलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरूलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् ।

दुई महोत्सव स्थगित

कोरोना रोगको सङ्क्रमण हुन सक्ने भन्दै जिल्लामा सञ्चालन भइरहेको एउटा र हुन लागेको अर्को एउटा महोत्सव स्थगित गरिएको छ । स्थानीय प्रशासनको पहलमा सञ्चालन भइरहेको भरतपुर महोत्सव आजदेखि स्थगित भएको छ ।

यही फागुन १६ गतेदेखि सञ्चालनमा आएको महोत्सव ६ दिनमा नै बन्द गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । त्यसैगर राप्ती नगरपालिकाको परेवाकोटमा बुधबारदेखि शुरु गर्न लागेको महोत्सव पनि रोकिएको छ । पश्चिम चितवनमा भइरहेको मेघौली महोत्सव पनि स्थगित गर्नका लागि स्थानीय प्रशासनले ताकेता गरेको छ ।

मेला महोत्सव नगर्न महानगरको अनुरोध

भरतपुर महानगरपालिकाले स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका जात्रा, पर्व, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गरी जारी गरिएको सूचनामा त्यस्ता कार्यक्रममा सहभागी नहुनसमेत अनुरोध गरिएको छ । यस सूचना विपरीत यस्ता कार्यक्रम सञ्चालन गरेमा नियमानुसार कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.