जन सरोकार

नयाँ शैक्षिकसत्रदेखि परिमार्जन हुँदै पाठ्यक्रम, भाषागत विषय बाहेक अन्यमा मातृभाषा र नेपाली भाषालाई उच्च प्राथमिकता

सरकारले नेपाली वा मातृभाषाको शिक्षालाई प्राथमिकता दिएको छ । पाठ्यक्रम विकास केन्द्रले सामुदायिक विद्यालय र निजी विद्यालयबीचको शिक्षाको विभेद हटाउन निश्चित विषयहरुलाई नेपाली भाषामै पढाउनुपर्ने निर्णय गरेको छ ।

यसअघि विद्यालय तहमा पठनपाठनको माध्यम भाषा नेपाली कि अंग्रेजी भन्ने विवादकाबीच विद्यार्थी निजी स्कुलतर्फ आकर्षित भएपछि केही सरकारी विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेका थिए । तर अब निजी विद्यालयले पनि तोकिएका विषयहरु नेपाली भाषामै पढाउनुपर्ने र त्यस्तो पाठ्यपुस्तक सरकारले स्वीकृति दिएको हुनुपर्ने छ ।

यसका लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा ४ देखि ८ मा भाषा विषयबाहेक अन्य विषय र सिकाइ सहजीकरण प्रक्रियाका लागि मातृभाषा वा नेपाली भाषामा पठनपाठन गर्नुपर्ने र सिकार्यलाई सहज बनाउन पुस्तक रंगीन बनाउने केन्द्रले बताएको छ । अंग्रेजी, गणित, विज्ञान विषय पठनपाठनमा अंग्रेजी भाषालाई माध्यम भाषा बनाउन सकिने केन्द्रले भनेको छ ।

केन्द्रका निर्देशक भट्टराईका अनुसार सामाजिक अध्ययन विषय भने निजी विद्यालयले पनि नेपाली भाषामा पठनपाठन गराउनुपर्छ । कक्षा ४ देखि ८ मा अंग्रेजी, गणित र विज्ञानबाहेक अरू विषय मातृभाषा वा नेपाली भाषामा पढाउनुपर्छ । माध्यमिक तहमा नेपाली वा अंग्रेजी माध्यम भाषा हुन सक्छ । तर सामाजिक अध्ययन र मानव मूल्य, चारित्रिक शिक्षाजस्ता विषय नेपाली कला, संस्कृति र मौलिक पहिचानमुलक विषयवस्तुको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुनेछ ।

शैक्षिक सत्र २०७७ मा केही विद्यालयमा कक्षा ६ का लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक परीक्षण गर्ने केन्द्रले तयारी गरेको छ। पाठ्यपुस्तक विकास गर्ने काम सुरू गरिएको केन्द्रले जनाएको छ । कक्षा ४ र ५ मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शारिरीक तथा सिर्जनात्मक कला र मातृभाषा वा स्थानीय विषय पठनपाठन गर्ने तयारी छ ।

यस्तै परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ६ देखि ८ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य तथा शारिरीक शिक्षा सिर्जनात्मक कलासहित र मातृभाषा वा स्थानीय विषय वा संस्कृत विषयको पठनपाठन हुने केन्द्रले जनाएको छ ।

केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषय परिमार्जन गरेको छ । योग, प्राकृतिक चिकित्सा र आयुर्वेद, सौन्दर्य कला, अवधी भाषा, भोजपुरी भाषा रनेपाली (ऐच्छिक) विषयका रूपमा स्वीकृत भएको केन्द्रले जनाएको छ । यी पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि नै कार्यान्वयनमा आउनेछ ।

पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नदिएका सामग्री बिक्री, वितरण नगर्न पनि आग्रह गरेको छ । नमूनाका रूपमा प्रकाशित गर्ने प्रश्नपत्र र किताबमा नमूनाका रूपमा समावेश भएका प्रश्न पत्रबाहेक प्रश्न पत्रको सँगालोको रूपमा प्राक्टिस बुक, गेस पेपर, गाइडजस्ता समग्री छपाइ, विक्री, वितरण गर्न र विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने केन्द्रले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.