जन सरोकार

१० रुपियाँको मास्क ६० रुपियाँमा बेच्ने कालाबजारियालाई लाखौं जरिवाना

खपत दैनिक २५ हजार थान स्वदेशमा उत्पादन पाँच हजार थान

विश्व्भर फैलिएको कोरोना भाइसरको संक्रमणबाट बच्न प्रयोग गरिने मास्कको कृतिम अभाव सिर्जना हुन थालेको छ । केही दिनयता उपत्यकामा मास्कको कालोबजारी चलिरहेको र यस्ता कालाबजारियालाई सरकारले कारबाही थालेको छ ।

मौकाको फाइदा उठाएर व्यवसायीले पाँच देखि १० रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको छ । कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन् । व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ ।

विभागको टोलीले बिहीबार मात्र महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिबाना गराएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताउनुभयो ।

विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ । क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो । पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो । विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो ।

गुनासो संकलन गर्न विभागले हट लाइन नम्बर ११३७ को व्यवस्था गरेको छ । मास्कको कालोबजारी भएको, व्यवसायीले कृत्रिम अभाव गरी अत्यधिक मूल्य असुल गरेको र व्यवसायीले बिक्री नगरेकोजस्ता विषयमा एक घण्टामै दुई सयवटा गुनासो उपभोक्ताबाट प्राप्त भएको थियो ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो । नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ । यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ ।

एक स्वदेशी उद्योगबाट दैनिक करिब पाँच हजार मास्क उत्पादन हुन्छ । कच्चा पदार्थ उपलब्ध नहुँदा मागअनुसार उत्पादन हुन नसकेको श्रेष्ठले बताउनुभयो । ‘कोरोना भाइरसको हल्ला चलेसँगै सर्वसाधारणले आवश्यकताभन्दा बढी खरिद गरेको र स्टकमा भएकाले कालोबजारी गरेका कारण अभाव सिर्जना भएको श्रेष्ठले बताउनुभयो ।

नेपाल औषधि व्यवसायी संघले मास्क र ह्यान्ड सेनेटराइज ताइवान र बैंककबाट आयात गर्ने व्यवस्था मिलाइदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ। औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आगामी चार महिनाका लागि आवश्यक पर्ने औषधि मौज्दात रहेको बताउनुभयो ।

‘तर हल्लाका भरमा आवश्यकताभन्दा बढी औषधि खरिद गरी जम्माखोरी गरेको अवस्थामा केही प्रभाव पार्न सक्छ,’ आचार्यले भने, ‘औषधि निर्माण गर्न आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न जोड दिनुपर्छ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.