राजनीति

बालुवाटार जग्गा प्रकरण : गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

विशेष अदालत काठमाडौंले बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर गरिएका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेकामध्ये ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रर इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । अख्तियारले प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अदुअआका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ । पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ ।

अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ ।

खड्काका अनुसार भ्रष्टाचारको आरोप लागेका ११० मध्ये ४४ र जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ६५ मध्ये ३० जनाको नाममा म्याद जारी भएको हो । जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर, शर्मिला शाक्य लगायतको नाममा म्याद जारी भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.