जन सरोकार

काठमाडौंमा मेलम्चीको पानी झर्दै- तीन दशकको सपना पूरा हुँदै

काठमाडौंमा मेलम्चीको पानी झार्ने झण्डै तीन दशकको सपना आज पूरा हुँदैछ । मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म बनाइएको सुरुङमार्फत आज शनिबार मेलम्चीबाट यहाँसम्म पानी आइपुग्न लागेको हो । फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो ।

पानी सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ । सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो । सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यका लागि अझै केही समय फर्खिनु पर्नेछ ।

यसअघि पनि गत असार २९ गते नै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । त्यसपछि पुनः सुरुङ परीक्षण गरिएको हो ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । मेलम्चीको पानी आए काठमाडौं उपत्यकामा खानेपानीको उपलब्धतामा केही सहजता हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.