रामपुरका नगरप्रमुख थापाको उदाहरणीय काम : तलबभत्ता सामाजिक काममा
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चनुभएको छ । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
उहाँले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताउनुभयो । “आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हुँ”, नगर प्रमुख थापाले भन्नुभयो ।
जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आउनुभएको छ ।
उहाँले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गर्नुभएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो ।
जनप्रतिनिधि हुनुअघि सक्रिय राजनीतिमा लाग्नुभएका थापा पूर्वी पाल्पाका अधिकांश सामाजिक संघसंस्था र बाटोघाटो निर्माणमा सक्रियता देखाउनुभएकोा थियो विगतमै । सामाजिक काममा जस्तोसुकै सहयोग गर्न तयार रहने थापाले यसअघि दलित तथा जनजातीका छोराछोरीलाई गाँउ गाँउमा गएर कितावकापी र छात्रबृत्ति दिनुकासाथै केहीलाई त काठमाडौमा समेत पढ्ने व्यवस्था गरिदिएको इतिहास छ । त्यस्तै कैयौ गरिव विरामीहरुलाई औषधी र अस्पतालको खर्च तिरिदिनुका साथै अपांगता भएकाहरुकाहरुलाई सहयोग गरिरहनुभएको छ ।
अहिले रामपुर नगरपालिकाको मेयर भएपछि पनि उहाँले आफूले पाउने तलबभत्ता सबै सामाजिक काममा खर्च गर्ने घोषणा गरेर देशभरका जनप्रतिनिधिका लागि उदाहरणीय बन्नुभएको छ ।